प्रेस सेन्टरको स्थापना दिवसमा पोखरामा प्रभातफेरी

हिमाली आवाज । प्रेस सेन्टर नेपालको स्थापना दिवसका अवसरमा आज पोखरामा प्रभातफेरी गरी मनाइएको छ ।

प्रेस सेन्टर गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगरको संयुक्त आयोजनामा पोखराको सिर्जनाचोकदेखी शहीदपार्कसम्म प्रभातफेरी गरी कोणसभा गरिएको हो ।  कोणसभामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवथामन्त्री हरिबहादुर चुमानले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुले अविचलित रूपमा श्रमजीविको पक्षमा लागिरहनुपर्ने बताउनुभयो ।

उहाँले मिसन पत्रकारिताबाट सुरु भएको प्रेस सेन्टरले छोटो समयमा जनपक्षिय पत्रकारितामा आफूलाई उभ्याएको बताउँदै समाजवादको यात्रा अघि बढाउन समेत संचारको भूमिका रहने बताउनुभयो । प्रदेश सरकार सञ्चार क्षेत्रसँग हातेमालो गरेरनै अघि बढ्ने मन्त्री चुमानको प्रतिवद्धता छ ।

प्रेस स्वतन्त्रता सेनानी एवं अग्रज पत्रकार कुशुमकेशव पराजुलीले क्रान्तिकारी पत्रकारहरूले शोषित पीडित जनताको मुद्दालाई सदैव प्रधानताका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधव पनेरु, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफ्ले, कास्की शाखाका अध्यक्ष कृष्ण दवाडी, पोखरा महानगर कमिटीका अध्यक्ष शिवराज बस्ताकोटी लगायतले पछाडि पारिएका वर्ग र श्रमजीवि पत्रकारको मुद्दालाई प्रेस सेन्टरले सदैव प्रमुखताका साथ उठाउँदै आएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

Comments
Loading...