पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द हुने

हिमाली आवाज । पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नितको काम गरिने भएको छ ।
पुष्पलाल(मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको हो ।

आयोजनाका अनुसार प्रत्येक दिन विहान ११ः०० बजेदेखी १५ः०० बजेसम्म र बेलुका २१ः०० बजेदेखी विहान १ः०० बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तिब्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको छ ।
पोखरा—बाग्लुङ राजमार्ग अन्तर्गत हाल पोखराको हरिचोकदेखी याम्दीपुलसम्मको सडक स्तरोन्नितको काम भइरहेको हो । सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको छ ।

चौवारीबाट ५० मिटर अगाडि हेमजातर्फ भीरको उचाई धेरै भएकाले भीर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको र आधा÷आधा घण्टामा रोकिएका सवारी साधन छुट्ने व्यवस्था मिलाइएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग योजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“आयोजनाको कामलाई तीव्रता दिन यातायातका साधन रोकेर काम गर्नेछौँ । सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न समेत आग्रह गरेका छौँ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले रोकिने सवारी साधनहरुले साधन रोक्दा र चलाउँदा कडाईका साथ आफ्नो लेन अनुसाशन कायम राख्न र सवारी साधन लामवद्ध भएको अवस्थामा ओभरटेक नगर्न आग्रह गरेको छ ।

जौवारीतर्फबाट जाने सवारी साधनलाई सिमपानीचोक—बगर— शिक्षा कार्यालय—केआइसिँह पुल—दीप हाउजिङ हुँदै नयाँपुल र हलुका सवारी साधनलाई विन्ध्यवासिनीचोक—सराङकोट—कास्कीकोट हुँदै नौडाँडाको बाटो प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी हेमजातर्फबाट आउने सवारी साधनहरु जौवारीपुल—दीप हुँदै सिमपानी र दोस्रो विकल्पमा नौँडाँडा—कास्कीकोट—सराङकोट हुँदै विन्ध्यवासिनीचोकको सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

Comments
Loading...