मोटरसाइकल पछाडि बस्नेका लागि हेल्मेटअनिवार्य गरिदै

काठमाडौं । सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दफा १३० मा सवारी चलाउदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ । ऐनमा प्रष्ट लेखिएको छ– ‘दुई पाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ ।’

खासगरी मोटरसाइकल–स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउदा दुर्घटना र जीवन जोखिममा प्रायः उनीहरूनै पर्ने गरेका छन्। यसैको न्यूनीकरणका लागि आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एक बिस्तृत छलफल भएको छ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको उक्त छलफलमा यस सन्दर्भमा चासो राख्ने विभिन्न सरकारी र सामाजिक निकाय तथा ब्यक्तित्वहरूको उपस्थिति थियो।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नागरिक स्वयंले हेल्मेटले दिने सुरक्षाको महत्त्व बुझ्नुपर्ने भएकोले यसका लागि जनचेतनामुलक कार्यक्रम जरुरी भएको बताउनुभयो । ‘जीवन सुरक्षा सामाजिक सुरक्षा पनि हो। नागरिकलाई त्यसका लागि उत्प्रेरित गर्ने दिशामा हामी छौं’ उहाँले भन्नुभयो।

छलफलमा सहभागी एमाले नेता, सांसद एवं ुरोड सेफ्टी एलायन्सुका कोअर्डिनेटर योगेश भट्टराईले धेरैजसो दुर्घटनामा दुई पाङ्ग्रे साधननै पर्ने गरेकोले आवश्यक सुरक्षामा लापरबाही गर्दा युवा पुस्ताले अनाहकमा ज्यान गुमाउनुपरिरहेको बताउनुभयो। ुरोड सेफ्टी काउन्सिलु निर्माण गर्न समेत अनिवार्य भैसकेको, अन्तराष्ट्रिय रुपमै हेल्मेट बाध्यकारी हुँदै गएको र यसका लागि आम जनचेतना हुनुपर्ने उहाँले बताउनुभयो ।

Comments
Loading...