गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यबाट शपथ

हिमाली आवाज । गण्डकी प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष र दुई जना सदस्यहरुले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री खगराज अधिकारीले आयोगका उपाध्यक्ष डा.गिरिधारी शर्मा पौडेललाई शपथ गराउनुभयो ।

यसैगरी मुख्यमन्त्री अधिकारीको उपस्थितिमा उपाध्यक्ष शर्मा पौडेलले नवनियुक्त सदस्यद्धय डा सुवास पौडेल र डा शान्ताकुमारी खत्रीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । यही माघ १५ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष र सदस्यहरु नियुक्तिको निर्णय गरेको थियो ।

यसअघि प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका पालामा पनि पौडेल योजना आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो । स्याङ्जाको आँधिखोला गाउँपालिका स्थायी घर हुनुभएका डा पौडेल यसअघि युएनडिपीमा कार्यरत हुनुहुन्थ्यो ।

आयोगको सदस्यमा नियुक्त डा अधिकारी यसअघिका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको पालामा समेत सदस्य हुनुहुन्थ्यो । अधिकारी तनहुँको म्याग्दे गाउँपालिका निवासी हुनुहुन्छ ।

यसैगरी अर्का सदस्य डा खत्री कास्कीको मादी गाउँपालिका—१२ निवासी हुनुहुन्छ । उहाँ पृथ्वीनारायण क्याम्पसमा समाजशास्त्र तथा मानवशास्त्र अध्यापन गर्नुहुन्थ्यो । शपथ समारोहमा प्रदेश सरकारमा मन्त्रीहरु, मन्त्रालयका सचिव तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै नीति तथा योजना आयोग र मुख्य न्यायाधिवक्ताको नियुक्ति गर्नुभएको हो ।

Comments
Loading...