बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने पोखराका व्यवसायीहरुको उद्घोष

हिमाली आवाज । पोखराका उद्योगी÷व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाबाट उनीहरुले संघर्ष समितिसमेत गठन गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सहसंयोजक रहेको सो संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरुले कर्जाका साँवा र ब्याजको लागि धरपकडविरुद्ध संयुक्त संघर्षका कार्यक्रम गर्ने उद्घोष गरिएको छ । संघर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न बस्तुगत संघका अध्यक्षहरु सदस्य रहेका छन् ।

‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने, घर र पसलमै पुगेर बालबालिकाको सामु धम्क्याउने, पसलमा दिनभर बिक्री भएको पैसा बोकेर हिँड्ने काम भएपछि बाध्य भएर संघर्ष गर्ने निर्णय गरिएको हो’,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भन्नुभयो,‘संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरुबाट भएका यस्ता कामको सामूहिक प्रतिवाद गर्नेछ ।’ कसैमाथि बैंक तथा वित्तीय संस्थाले ज्यादति गरेको भए संघर्ष समिति वा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघलाई जानकारी दिन अनुरोध पनि प्रजापतिले आग्रह गर्नुभयो।

बैंक तथा वित्तीय संस्थाहरुबाट एकाएक कर्जाको ब्याज बढाउँदा धेरै उद्योगी÷व्यवसायीहरु मर्कामा परेका र तनावकै कारण आत्महत्या गर्न बाध्य हुनुपरेको बताउँदै उहाँले ज्यादति तत्काल रोकिनुपर्ने माग पनि गर्नुभयो । विषम परिस्थितिमा कुनै बैंक तथा वित्तीय संस्थाहरुले कुनै व्यवसायीहरुको धितो लिलामी प्रक्रिया अगाडि बढाए त्यसको पनि प्रतिकार गरिने प्रजापतिको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले कुनै बैंक तथा वित्तीय संस्थाबाट धम्कीपूर्ण टेलिफोन र पत्र आए त्यसको जानकारी संघर्ष समिति एवं आफूलाई दिन आग्रह गर्नुभयो । उहाँले दुःख दिने बैंक तथा वित्तीय संस्थालाई परिआए एकमुष्ठ लालपूर्जा लगेर बुझाइने उद्घोष पनि गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले व्यवसायीहरु उठ्नै नसक्ने अवस्थामा पुगेको बेला बैंक तथा वित्तीय संस्थाहरुको सुदखोर व्यवहार मान्य नहुने बताउँदै कर्जाको समयसीमा बढाउन र ब्याजदर घटाउन माग गर्नुभयो ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम ढकालले बैंकहरुबाट कर्जामा एकाएक बढाइने ब्याजका कारण व्यवसायीहरु मर्कामा परेको बताउनुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बसन्त उदास,वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की,पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव जानुका अधिकारीसहित विभिन्न बस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरुले बैँकहरुको कर्जाको व्याज वृद्धि गरेर व्यवसायीमाथि अन्याय गरेको बताउनुभएको थियो ।

Comments
Loading...