गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल पोखरामा हुँदै

हिमाली आवाज । गण्डकी प्रदेश सरकारको स्थापना दिवस पारेर पोखरामा प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रदेश सरकार मातहतको प्रदेश खेलकुद परिषद्ले सरकार स्थापनाका अवसर पारेर यही फागुन १ देखी ३ गतेसम्म मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल गर्ने निर्णय गरेको हो ।

सरकारको स्थापना दिवस पारेर प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता गर्ने निर्णय प्रदेश खेलकुद परिषदको आजको कार्यकारी समितिको बैठकले गरेकोसदस्य सचिव घनश्याम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट सहभागिता गराउने योजना छ । भलिबल खेलको विकास र विस्तार गरी नयाँ खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउ पुग्ने विश्वास आयोजकको छ ।

पौडेलले भन्नुभयो,“राष्ट्रिय खेल भलिबल भएका कारणले पनि हामीले प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छौं । यो प्रतियोगिताले खेलाडी उत्पादनसंगै प्रदेशका उत्कृष्ट खेलाडीहरुको छनोटमा सघाउ पुग्नेछ ।”
प्रतियोगिताको तयारीका लागि बैठकले परिषदका सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा पाँच सदस्सीय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।
सो समितिमा प्रदेश खेलकुदका सदस्य विष्णु मायाँ गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष नविन गुरुङ र महासचिव तहल सिंह थापा मगर रहनुभएको छ ।
प्रतियोगिता संयोजक क्षेत्रीले गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागिता गराउने जानकारी दिंदै प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने महिला तथा पुरुष टिमलाई क्रमश ः नगद रु एक लाख ५० हजार, रु एक लाख र रु ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरुले जनही नगद रु रु २०÷२० हजार तथा विद्यागत रुपमा उत्कृष्ट पाँच विधाका महिला तथा पुरुष खेलाडी जनही रु दस÷दस हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त आयोजकले जनाएको छ ।

Comments
Loading...