नायक पल शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालत पोखराको आदेश

हिमाली आवाज । बाल यौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतले आदेश दिएको छ ।

नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले शाहलाई २ वर्ष ६ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएकोमा उच्च अदालत पोखराले शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको शाहका कानून व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मुद्दामा शाहले सफाइ पाइसकेका छन् । नवलपुर अदालतको फैसला भुक्तानका लागि शाह यतिबेला तनहुँ कारागारमा छन् ।

Comments
Loading...