घरवासलाई व्यवस्थित गरी अनुदान पाएकाको अध्ययन गछौँ : मन्त्री जुग्जाली

हिमाली आवाज । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ ।

पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको तेस्रो चापाकोट महोत्सवलाई बिहिबार सम्बोधन गर्दै मन्त्री जुग्जालीले प्रदेश सरकारले यसअघि अनुदान सहयोग गरेका घरवासहरुको अध्ययन थालिएको बताउनुभयो ।

“यसअघि प्रदेश सरकारले सहयोग गरेका ३२३ वटा घरवासको अवस्था र प्रभावकारीताको अध्ययन, वास्तविकता पहिचान गरेर उत्कृष्ट होमस्टेको प्रर्वद्धनमा गर्ने नीति लिन्छौ,” उहाँले भन्नुभयो “सबैभन्दा राम्रो चलेको र बिग्रिएको होमस्टेको भिजिट गरेर पुनरावलोकन गर्न आवश्यक देखिएको छ ।”

प्रदेश सरकारले गण्डकीको सम्बृद्धिको पहिलो आधार पर्यटन बनाएको र पर्यटन विकासका लागि घरवास कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो । पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरेर पूर्वाधार र प्रर्वद्धनका गतिबिधिलाई अघि बढाउन प्रदेश सरकारले पहल गरेको मन्त्री जुग्जालीको भनाई थियो ।

पोखरामा आउने विदेशीका साथ साथै आन्तरिक पर्यटकहरुलाई आसपासका पर्यटकीय स्थलको भ्रमण गराएर बसाई लम्बाएर ग्रामिण क्षेत्रमा रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन जोड दिने बताउनुभयो ।

मन्त्रालयको पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति विभागका सचिव कृष्ण बहादुर बोहोराले यस वर्ष होमस्टे प्रर्वद्धनका लागि बिनियोजन भएको रु. एक करोड बजेट कार्यान्वयनका लागि प्रस्ताव आव्हानको तयारीमा रहेको जानकारी दिनुभयो । पर्यटन पूर्वाधारमा रु. दश करोड बजेटका योजना रहेको उहाँले बताउनुभयो ।

माघ २४ गतेदेखि शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको थियो । पोखरा देखि १२ किलोमिटर पक्कि सडकको यात्रा गरेपछि पुगिने पञ्चासेको फेदी, सारङकोट र पुम्दकोटको टाकुरासँग जोडिएको चापाकोटको दैलोमा पोखरा र फेवाताल छन् ।

पोखराको नजिक भएर पनि ओझेलमा परेको चापाकोटको पहिचान र विकाससँगै पर्यटन प्रबद्र्धनका लागि महोत्स आयोजना गरेको चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष भिम पराजुलीले बताउनुभयो ।

कोदोबाट बनाइएको सेलरोटी, गाउँमा फलेका लप्सी, दमौराको अचार, अर्गानिक मह, साग, फेवाको असला, दुधे पिडालुको बजारीकरणको लक्ष्य लिएको पराजुलीले बताउनुभयो । माघ २८ गतेसम्म चल्ने महोत्सवमा मौलिक गित, नृत्य, बाजा प्रर्दशनी गरिएको छ ।

Comments
Loading...