पोखरा लेकसाइडको आगलागी दुई घण्टापछि नियन्त्रणमा

हिमाली आवाज । पर्यटकीय सहर पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आज साँझ लागेको आगलागी दुई घण्टापछि निभाइएको छ ।

हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईतलामा रहेको गोदामबाट साँझ ४ः३५ बजे सुरु भएको आगलागी ६ः४५ बजे पूर्ण नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट सेन्टरमा सञ्चालित आधा दर्जन व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ । आगलागीका समयमा कर्मचारी तथा ग्राहकहरु पसलमा भएपनि मानवीय क्षेति भने भएको छैन ।

प्रहरी निरीक्षक पौडेलले भन्नुभयो,“आगलागी पूर्ण नियन्त्रणमा लिएका छौँ । अहिले राति भएकाले क्षतिको सवै विवरण सङ्कलनमा कठिनाई भएकाले भोली विहानमात्र घटनास्थलको मुचुल्का गर्नेछौँ ।” विद्युत सट भएका कारण आगलागी भएको अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थल र पोखरा महानगरको गरी चारवटा वारुणयन्त्र र नीजि खानेपानी कम्पनीका ट्याङ्कर समेत परिचालन गरिएको थियो ।

लेकसाइडको मुख्य सडक क्षेत्रमा भएको आगलागीका कारण प्रहरीले सवारी आवागमन रोकर घटनास्थललाई नियन्त्रणमा लिएको थियो ।
आगलागीका कारण सेलवेज डिपार्टमेन्टल स्टोर्सको गोदाम पूर्ण क्षति पुगेपनि हिमालयन जाभा क्याफे, नासा ट्रेकिङ इकुप्मेन्ट सप, प्याडल नेपाल,तिव्वतीयन कल्चर सप, मसला विट लगायतका पसलहरुमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

घटनापछि ठूलो सङ्ख्यामा सर्वसाधारण घटनास्थलमा जम्मा हुँदा प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो ।

Comments
Loading...