विटी कप फुटबलको उपाधि गन्नी एफसीलाई

हिमाली आवाज । बुद्धटोल(विटी) युवा क्लबद्वारा पोखरामा आयोजना गरिएको १६ औं संस्करणको ‘बिटी कप तथा छैटौं विरेन स्मृति सेभेन ए साइड खुला’ फुटबल प्रतियोगिताको उपाधि गन्नी एफसीले जितेको छ ।

पोखरा महानगरपालिका—१ बगरस्थित पुरानो टुडिखेलमा आज सम्पन्न फाइनल खेलमा लामागाउँ गुम्बा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो । उपाधि विजेतको गन्नीको जितमा अनिश तामाङले निर्णायक गोल गर्नुभयो ।

च्याम्पियन गन्नीले उपाधि सहित नगद रु एक लाख ६१ हजार १५१ पुरस्कार प्राप्त गर्न सफल भयो भने उपविजेता बनेको लामागाउँले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु एक लाख एक हजार १११ पुरस्कार पायो ।प्रतियोगितामा गन्नी एफसीका अनिश तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु आठ हजार पुरस्कार पाउनुभयो ।

यसैगरी उत्कृष्ट गोलरक्षकका गन्नीकै सन्देश गुरुङ, उत्कृष्ट मिडफिल्डरका लक्षु थापामगर, उत्कृष्ट डिफेण्डर लामागाउँका सरोज तितुङ तामाङ र सर्वाधिक गोलकर्ता लामागाउँका अनुज भण्डारी घोषित हुँदै ट्रफी र जनही रु छ हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा वी आर ब्रदर्श काठमाडौंको टोली अनुशासित टिम घोषित हुँदै शिल्डसहित नगद रु नौ हजार पुरस्कार पाएको छ ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मगर, क्लबका निवर्तमान अध्यक्ष विजया गुरुङ, सल्लाहकार, राधा गुरुङ, क्लबका अध्यक्ष असिम थापा लगायतले पुरस्कार वितरण गर्नुभयो ।
सो अवसरमा मन्त्री जुग्जालीले पोखराको परिचय पर्यटन मात्रै नभएर खेलकुद पनि रहेको बताउनुभयो ।

उहाँले आगामी वर्षको नीति तथा कार्यक्रममा पोखरा लगायत प्रदेशका ११ वटै जिल्लाको खेल गतिविधिलाई पर्यटनसँग जोड्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री जुग्जालीले भन्नुभयो,“खेलकुदलाई पर्यटनसँग जोड्न सकेको खण्डमा प्रदेशको अर्थतन्त्रमा टेवा पुग्नेछ । खेल पर्यटन विस्तारका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्नेछौँ ।”

Comments
Loading...