पोखरामा प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता

हिमाली आवाज । पोखरालाई आर्चरी खेलको राष्ट्रिय तथा अन्तराष्ट्रिय गन्तव्य बनाउने लक्ष्य सहित प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।

पोखरा रङ्गशालाभित्र रहेको आर्चरी मैदानमा यही फागुन ५ गतेदेखी सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट खेलाडीहरुको सहभागिता रहने छ ।

प्रदेश खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेश आर्चरी सङ्घको संयोजनमा हुने प्रतियोगितामा प्रदेशका ९५ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगेन्द्र शेरचनले बताउनुभयो ।उहाँका अनुसार प्रतियोगितामा ‘रिकर्ब ओपन’ पुरुष र महिला तथा ‘स्टाण्डर्ट’ पुरुष तर्फको व्यक्तिगत खुला विधामा प्रतिस्पर्धा हुनेछ ।

पोखरा रङ्गशालामा रहेको आर्चरी मैदान देशमै उत्कृष्ट मैदानमा पर्दछ । सोही मैदानमा यसअघि १३ औँ दक्षिण एशियाली खेलकुद(साग)को खेल समेत खेलाइएको थियो । आर्चरी सङ्घले समेत यहाँ वर्षेनी राष्ट्रियस्तरको प्रतियोगिता गर्दै आएको छ ।

प्रदेशस्तरीय खुला प्रतियोगितामा ‘रिकर्ब ओपन’ ७० मिटर र ‘स्टाण्डर्ट’ ३० मिटरको दूरीमा खेलाइने छ । प्रतियोगितामा रिकर्ब ओपन पुरुष तर्फ विजेतालाई नगद रु ३० हजार, उपविजेतालाई रु २० हजार र तृतीय हुनेलाई रु १५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी रिकर्ब ओपन महिला तर्फ विजेतालाई रु १५ हजार, उपविजेतालाई रु १० हजार र तृतीय हुनेलाई रु पाँच हजार पुरस्कार पाउनेछन् ।
स्टाण्डर्ट पुरुष तर्फ विजेतालाई रु २० हजार, उपविजेतालाई रु १५ हजार र तृतीय हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिने अध्यक्ष शेरचनले जानकारी दिनुभयो ।

यसैगरी ६० वर्ष उमेर माथिका खेलाडीहरु (भेट्रान्स) को प्रतिस्पर्धामा प्रथम हुनेलाई रु आठ हजार, द्धितीय रु पाँच हजार र तृतीयलाई रु तीन हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रदेश खेलकुद परिषदको बार्षिक कार्यक्रम अन्र्तगत आयोजना हुने उक्त प्रतियोगितामा मुख्य आर्थिक सहयोगीको रुपमा नेपाल ईन्भेष्टमेन्ट मेघा बैङ्क र पोखरा महानगरपालिका रहेका छन् ।

Comments
Loading...