पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न कुटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री किराँती

हिमाली आवाज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशहरुमा उडान गर्नका लागि कुटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ ।

पोखरा विमानस्थलमा आज प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पोखरासँग भगिनी सम्वन्ध कायम भएका चीनका विभिन्न शहर सहित भारतका अन्य शहरहरुमा सिधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको बताउनुभयो । गत पुस १७ गते भव्य उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक उडान मात्र भएका छन् ।

मन्त्री किराँतीले भन्नुभयो,“पोखरादेखी सिधै अन्तर्राष्ट्रिय हवाईसम्पर्कका लागि चौतर्फी पहल गरेका छौँ । यही मितिदेखी भनेर भन्न नसकेपनि अत्यधिक कोसिस मन्त्रालयले गरिरहेको छ । हाम्रोतर्फबाट यथाशक्य चाँडो गर्नुपर्दछ भन्ने धारणा छ ।”

मन्त्री किराँतीले नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भनेर कार्ययोजना ल्याउन आफूले निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो,“ यति राम्रो विमानस्थललाई सम्पूर्ण रुपले सदुपयोग गर्न चाँडै सफल हुने विश्वास छ ।”

नेपालका सबै विमानस्थलहरु दैनिक कम्तिमा १५ घण्टा चल्ने व्यावसायिक कार्यक्रम आवश्यक रहेकाले मन्त्रालयका कर्मचारीहरुलाई विजेनश प्लान ल्याउन आग्रह गरेको जानकारी दिनुभयो ।

युरोपेली युनियन(इयु)ले अझै पनि नेपाली आकास भनेर दर्ता गरेकाले त्यसलाई हटाउनका लागि सरकारले प्रयत्न गरिरहेको जानकारी दिनुभयो ।

पर्यटनमन्त्री किँरातीले पोखरामा गत माघ १ गते भएको विमान दुर्घटनापछि मनोवैज्ञानिक आतङ्क रहेकाले त्यसलाई न्यूनीकरण गर्नु आवश्यक रहेकाले आफू सोही कम्पनीको जहाज चढेर पोखरा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“जुन एयरलाइन्सको विमान दर्घुटना भयो त्यही कम्पनीको जहाज चढेर भयभित मनोविज्ञानलाई सम्वोधन गरेको छु ।”
विमान दुर्घटनाको छानविनका लागि सरकारले गठन गरेको छानविन समितिले दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरी हिजो मात्र बुझाएकाले सम्र्पूण प्रतिवेदन प्राप्त भएपछि घटनाको यथार्थ विवरण बाहिर ल्याइने मन्त्री किराँतीले जानकारी दिनुभयो ।

आफ्नो मन्त्रालयमा समस्याको चाङ रहेको र चूनौती र अप्ठ्याराहरु भएपनि समाधान असम्भव छैन भनेर आफू लागि परेको र कामको नतिजा देखिन समय लाग्ने उहाँले बताउनुभयो ।

Comments
Loading...