पोखरा अन्तराष्ट्रिय म्याराथनमा एकै पटक आठ हजार दौडने

हिमाली आवाज । पोखरामा यही फागुन ६ गते आयोजना गरिएको १७ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

म्याराथन आयोजना नेपाल भुतपूर्व खेलाडी मञ्चले नेपाल सहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स,हङकङ, फ्रान्स, बेलायत, पोल्याण्ड लगायतका देशहरुबाट धावकहरुले नाम दर्ता गराएको जनाएको छ ।यसैगरी नेपालका सातवटै प्रदेशबाट ३७ जिल्लाका धावकहरुले सहभागिता जनाउने भएको मञ्चले जानकारी दिएको हो ।

पोखरा रङ्गशालामा विहान ६ बजेबाट सुरु हुने म्याराथन लगायतका सबै विधामाम गरी हालसम्म आठ हजार जनाले नाम दर्ता गराएको मञ्चले जनाएको छ ।

यस वर्षको खुला म्याराथनमा १५० जना धावकहरु सहभागी हुने भएका छन् भने महिलातर्फको हाफ म्याराथनमा ३५ जना धावकहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्ने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यसैगरी १० किलोमिटर पुरुषतर्फको दौडमा एक हजार ५०० र महिलातर्फ छ सय जनाले नाम दर्ता गराएका छन् । पाँच किलोमिटर दौडमा ७० वटा विद्यालयका छात्र र छात्रतर्फ क्रमशः एक हजार ६०० जना र छ सय जनाले नाम दर्ता गराएका छन् ।

ह्विलचेयरतर्फ ४७ जना , दृष्टिविहिन दौडतर्फ ९० जना र ‘रन फर फन’तर्फ सबैभन्दा धेरै ५ हजार जनाले नाम दर्ता गराएको आयोजक मञ्चले जनाएको छ ।
म्याराथन (४२.१९५)किमी दौडका विजेताले रु पाँच लाख, द्धितीयले रु तीन लाख र तृतीय हुने टोलीले रु दुई लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । मञ्चले गत वर्षको तुलनामा यस वर्ष पुरस्कार राशी वृद्धि गरेको हो ।

मञ्चले गण्डकी प्रदेशका धावकहरुका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । जसमा प्रदेशबाट सहभागी हुने धावकहरुलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमश ः रु ५० हजार, रु ३० हजार र रु २० हजार प्रदान गरिने छ ।

महिलातर्फको हाफ म्याराथनमा च्याम्पियनलाई रु एक लाख ५० हजार, द्धितीयलाई रु एक लाख, तृतीय हुनेलाई रु ७५ हजार र सान्त्वना पुरस्कार स्वरुप रु १५ हजार प्रदान गरिने जनाइएको छ ।

यसैगरी १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमश ः रु ३० हजार, रु २० हजार, रु १५ हजार र पाँच किलोमिटर छात्र÷छात्रा दौडतर्फ विजेताले रु १५ हजार, द्धितीयले रु १० हजार र तृतीयले रु सात हजार पुरस्कार पाउने मञ्चले जनाएको छ ।
मञ्चले ह्विलचेयर र दृष्टिविहिन महिला÷पुरुष दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ः १० हजार, सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

म्याराथनका लागि विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेले रु चार लाख र न्यू ह्याम्पशायर वोष्टन अमेरीका निवासी नेपाली समाजले रु एक लाख १० हजार तथा एनआरएनए एनसिसी अस्ट्रेलियाले रु ५२ हजार सहयोग प्रदान गरेको छ ।

Comments
Loading...