पोखरामा कर्मचारीलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन:भनसुन गराउन थाल्नु भयो भने काम विग्रियो भन्ने बुझे हुन्छ

हिमाली आवाज । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको मुख्य ध्यान समृद्धिको लक्ष्य कसरी पूरा गर्ने भन्नेमा केन्द्रित रहेको बताउनुभएको छ ।

सडक डिभिजन कार्यालय पोखरामा आज मातहतका कार्यालयका प्रमुख एवं कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले समृद्धिको प्रक्रियालाई तीव्रताका साथ अघि बढाउँदा मात्र जनताको अपेक्षा र आवश्यकता पूरा हुने उल्लेख गर्नुभयो ।उहाँले देशमा समृद्धि हासिल गर्नका लागि भौतिक पूर्वाधार मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी रहेको समेत बताउनुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो,“हाम्रो मन्त्रालयमा सरकारको पूँजीगत बजेटको एक तिहाई बजेट छुट्टाइएको छ । समृद्धिको लक्ष्य हासिल गर्नमा हाम्रो मन्त्रालयको ठूलो जिम्मेवारी छ,त्यो जिम्मेवारी पूरा गर्न जिम्मेवारी बोध गर्नु आवश्यक छ । आयोजनाको कार्यान्वयन प्रक्रियालाई तीव्रताका साथ प्रभावकारी अघि बढाउनु आवश्यक छ।”

सवैलाई न्याय र परिणाममा आफू केन्द्रित भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले काम गराउनका लागि भनसुन गराउनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।“पोलिटिकल दवाव र अवाञ्चित प्रभावले कसैको पोष्टिङ र सुरुवा हुँदैन । कसैको भनसुन गराउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । बरु भनसुन गराउन थाल्नु भयो भने काम विग्रियो भन्ने बुझे हुन्छ ।”उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले कतिपय विकास आयोजनाको काम सम्झौता भएको १० वर्षसम्म पूरा नभएको आफूले देखेको बताउँदै निर्माण व्यवसायीले काम गरेनन् भनेर मात्र नबस्न र किन काम हुन सकेन भनेर अनुगमन गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Comments
Loading...