साझा व्यक्तिनै राष्ट्रपतिको उम्मेदवार –नेता गुरुङ

हिमाली आवाज । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपतिको उम्मेदवार साझा व्यक्ति खोज्नु पर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल, कास्कीद्धारा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रमका बोल्दै गुरुङले पार्टीगत भन्दा पनि साझा व्यक्ति राष्ट्रपति खोज्न आवश्यक भएको बताउनुभयो ।

‘काँग्रेस र एमालेले राष्ट्रपतिको उम्मेदवारी दिने तयारी गरेका छन् तर पार्टीभन्दा बाहिरबाट संविधान र लोकतन्त्रको मर्म बुझेको साझा व्यक्ति राष्ट्रपति हुनुपर्छ भनेर हामीले भनेका छौ,’ गुरुङले भन्नुभयो–‘संविधानले पनि साझा र दलगत भन्दा वाहिरको व्यक्ति राष्ट्रपतिको परिकल्पना गरेको छ’।

राजनीतिक पार्र्टीका व्यक्ति राष्ट्रपति चुन्दा पटक पटक धोखा खानु परेकाले स्वच्छ छबि भएको लोकतन्त्र र संविधानको रक्षा गर्ने व्यक्ति राष्ट्रपतिका लागि उपयुक्त पात्र हुने भनाई उहाँको छ । ‘स्वच्छ छबि भएको व्यक्ति राष्ट्रपति चयन गर्न प्रस्तापक जुन दलपनि हुन सक्छ,’ उहाँले भन्नुभयो–‘संविधानलाई भताभुङ्ग गरेर आफू निकट पार्टीको पक्षमा निर्णय गर्ने राष्ट्रपति हैन, यस अघि पनि हामीले राष्ट्रपतिबाट धोखा पाइसकेका छौं’ ।

पूर्व राजा ज्ञानेन्द्र राष्ट्रपति बन्न नसक्ने भनाई उहाँको छ । ‘पूर्व राजा ज्ञानेन्द्रले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्लान तर लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र धर्म निरपेक्षताको रक्षा उहाँबाट हुन सक्दैन,’ नेता गुरुङले भन्नुभयो । पछिल्लो समय पूर्व राजाको वक्तव्य लोकतन्त्रको पक्षमा नभएको भनाई पनि उहाँको छ ।

‘एमालले पुस १० गतेको सहमति तोड्छु भन्नु गलत कुरा हो, त्यसले लोकतन्त्रलाई फाइदा गर्दैन,’ नेता गुरुङले भन्नुभयो–‘पार्टीगत फाइदा भन्दा पनि समग्र मुलुकको राजनीतिक स्थीरताको लागि सोंच्नु पर्छ ।’राजनीतिक स्थीरताका लागि संविधानको रक्षा, सुशासन, आर्थिक समृद्धि र स्वाधिनताको रक्षाका राजनीतिक दलहरु पार्टीगत स्वार्थबाट माथि उठ्नै पर्ने भनाई उहाँको थियो ।

Comments
Loading...