पोखरा आउदै गरेको बस दुर्घटनामा ५१ जना घाइते

हिमाली आवाज । पोखरामा आइतबार दिउसो यात्रु बाहक बस दुर्घटनामा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरुमा अधिकाँस विद्यार्थी रहेका छन् ।

पोखरा—बेगनासताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पोखरा बजारतर्फ आउँदै गर्दा पृथ्वीराजमार्गस्थित पोखरा—२७ डाँडाकोनाकमा सडकबाट २० मिटर तल खोल्सामा खसेको थियो ।

घाइतेहरुको अवस्था सामान्य रहेको जानकारी अस्पतालहरुले दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

घाइतेहरु मध्ये दुई÷दुई जनाको फिस्टेल अस्पताल र मेट्रोसिटी, तीन जनाको मेडिप्लस अस्पताल, पाँच जनाको गण्डकी मेडिकल कलेज अन्य बाँकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । चिकित्सकका अनुसार घाइतेहरुको हातखुट्टामा चोटपटक लागेको छ ।

बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका विद्यार्थी सोमबार पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहका लागि लगाउने पोसाक(गाउन) लिएर फर्कदै गरेको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै प्रहरी र सर्वसाधारणको घटनास्थलबाट उद्धार गरेर अस्पताल लगेका थिए । दुर्घटनामा परेको बसलाई दुईवटा क्रेनको सहायताले बाहिर ल्याइएको छ ।

Comments
Loading...