रासस पोखरा कार्यालयमा चोरी प्रयास गर्ने पक्राउ

हिमाली आवाज । राष्ट्रिय समाचार समिति (रासस)को गण्डकी प्रदेश कार्यालय तोडफोड गरी चोरी प्रयास गर्ने दुई जना पक्राउ परेका छन् ।

पोखरा–९ नयाँबजारस्थित कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा– ३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रासस कार्यालयले दिएको उजुरीका आधारमा घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक बेदप्रसाद जोेशीले जानकारी दिनुभयो ।

घटनामा संलग्नमाथि चोरी तथा डाँका कसुर अन्तर्गत मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिसी क्यामेरा फुटेजमा देखिएको हुलियाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

शुक्रबार राति १ं३० बजेको समयमा कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो । प्रहरीले घटनाबारे थाहा हुनासाथ अनुसन्धान थालेको थियो ।

Comments
Loading...