जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना:प्रधानमन्त्री दाहाल

हिमाली आवाज । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीका सबै नेता कार्यकर्तालाई दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा जान निर्देशन दिनुभएको छ ।

पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई आज पोखरामा सम्वोधन गर्दै उहाँले केन्द्रीय समितिको बैठकअघि तलसम्म गएर जनता र कार्यकर्ताको सुझाव लिएर आउन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो,“यहाँ माथि माथिकाले ल्याएका कुराले समस्या त्यति समाधान हुन सकेन । हामी आफ्ना आफ्ना कुरामात्र लिएर आउने भइयो । दुई महिना जनतामा गएर सुझाव लिएर आउनुहोला । जनताका सुझावका आधारमा पार्टी पुनःनिर्माण गर्नेछौँ ।”

प्रधानमन्त्री दाहालले हाल पार्टी अप्ठ्यारोमा रहेकाले जनताको सुझाव र आलोचनाका आधारमा आफूले डकुमेण्ट बनाउने र त्यसलाई केन्द्रीय समितिमा लगिने बताउनुभयो । उहाँले केही समूहसँग तत्काल पार्टी एकताको समेत सम्भावना रहेको उल्लेख गर्नुभयो।

“पार्टी एकताको सम्भावना भएकासँग एकता गर्ने, नभएकासँग समाजवादी मोर्चा बनाउने र छलफल गर्दै गएर बामपन्थी धुव्रिकरणको बाटो अवलम्व गर्नुपर्ने हुन्छ ।” प्रधानमन्त्रीले भन्नुभयो,“ केही समूहसँग तत्काल पार्टी एकताको समेत सम्भावना देखिएको छ ।यसरी पार्टीलाई पुनःगठन गर्दै जनआधार विस्तारको सम्भावना पैदा हुन्छ ।”

जनतालाई आशा दिलाउने काम अहिलेको सरकारले गरेकाले जनतालाई सरकारका काम बुझाउन पार्टीका नेता,कार्यकर्तालाई आग्रह गर्नुभयो ।प्रधामन्त्री दाहालले १२ बुँदे सहझदारीका पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने अवस्था अहिले रहेको बताउनुभयो ।

Comments
Loading...