पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा सात हजार विद्यार्थी दिक्षित

हिमाली आावाज। पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित दीक्षान्त समारोहमा उक्त सङ्ख्यामा विद्यार्थी दीक्षित भएका हुन् ।
विसं २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई उक्त विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दीक्षित गर्नुभयो ।

पोखरा विश्वविद्यालयले यस वर्ष व्यवस्थापन सङ्कायबाट विद्यावारिधि गर्ने एक विद्यार्थीलाई कुलपति पदक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने ११ विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने एक विद्यार्थीलाई उपकुलपति पदकबाट विभूषित गरिएको थियो । उक्त अवसरमा विभिन्न विधाका पाँच सय ७२ विद्यार्थीलाई डीन लिष्टको उपाधिबाट सम्मानित गरिएको थियो ।
व्यवस्थापन सङ्कायअन्तर्गत आङ्गिक महाविद्यालयबाट स्नातकोत्तर तहमा एमबिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई लक्ष्मी स्वर्ण विद्या पदक, २०७९ बाट सम्मान गरिएको छ । विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत स्नातक तहमा बिसिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई असिम गोल्ड मेडल, २०७९ बाट सम्मान गरिएको छ ।

पोखरा विश्वविद्यालयका ६६ महाविद्यालयमा विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका पठनपाठनका साथै विश्वविद्यालयमा ६४ कार्यक्रम सञ्चालनमा रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले जानकारी दिनुभयो । यी कार्यक्रममा शैक्षिक सत्र २०७९ मा ३७ हजार छ सय ४५ विद्यार्थी अध्ययनरत छन् ।

पोखरा विश्वविद्यालयमा हाल व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । पोखरा विश्वविद्यालयका देशैभरि चार आङ्गिक, चार संयुक्त आङ्गिक र ५८ सम्बन्धनप्राप्त महाविद्यालय सञ्चालनमा रहेको जानकारी सो अवसरमा दिइएको थियो ।

Comments
Loading...