पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालिन उडानका लागि तयार

हिमाली आवाज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालिन उडानका लागि तयार भएको छ ।

गत पुस १७ गतेदेखी आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली भोलिदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न योग्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो ।

विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआईपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ एआईपी प्रकाशन भएको भोली ४२ दिन पुग्दैछ । हामीले यसको जानकारी कम्पनीहरुलाई दिएका छौँ । यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालिन उडानका लागि समेत परिपक्क भएको छ ।”यसअघि एआईपी प्रकाशन गरेको ४२ दिन नपुगेका कारण रात्रीकालिन उडानका लागि समय पर्खिनुपरेको बताइन्छ ।

हाल विमानस्थलमा भिजुअल फ्लाइट रुल्स(भिएफआर) प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण हुँदै आएको छ । आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिएफआरको तुलनामा सुरक्षित समेत रहेको बताइन्छ ।

विमानस्थल रात्रिकालिन उडानका लागि योग्य भएसँगै नीजि क्षेत्रका हवाई कम्पनीहरुले रात्रिकालिन उडानको समेत तयारी थालेका छन् ।
बुद्ध एयरले आगामी फागुन २५ देखी रात्रिकालिन उडानको तयारी गरेको बताइन्छ । बुद्धका चारवटा जहाज रातिको समयमा पोखरा विमानस्थलमा रहनेछन् ।

हाल साँझ ४ बजेसम्म मात्र उडान हुँदै आएको पोखरामा रात्रिकालिन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने विश्वास छ । यसबाट पर्यटन क्षेत्रलाई समेत लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान भएपनि अन्तर्राष्ट्रिय उडान अझै सुरु हुन सकेको छैन ।

पोखरा विमानस्थलका प्रमुख गौतमले अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकहरुसँग कुटनीतिक पहलका लागि आफूले प्रधानमन्त्रीसँग समेत आग्रह गरेको बताउनुभयो ।

Comments
Loading...