पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा सञ्चालनमा आउने

हिमाली आवाज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अबदेखी दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ ।

विमानस्थलबाट विहान ६ः०० बजेदेखी साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ः०० बजेसम्म उडान गर्न सकिने छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणका आधारमा विमान उडान÷ अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबादेखी लागू भएपछि रातको समयमा समेत उडान÷अवतरण हुने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पोखरा विमानस्थल रात्रिकालीन हवाई उडान गर्न तयार भयो । यसको जानकारी सबै विमान कम्पनीहरुलाई दिएका छौँ । विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउँछ । यसका आधारमा विमान कम्पनीले आफ्नो उडान तालिका बनाउनेछन् ।”

विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएपनि तत्कालै भने राति उडान हुने छैन । हवाई कम्पनीहरु यसका लागि आन्तरिक तयारीमा छन् ।
बुद्ध एयरले आगामी मार्च ९ गतेदेखी रात्रिकालीन उडान भर्ने भएको छ । सुरुआतमा राति आठ बजेसम्म पोखरा—काठमाडौँ रुटमा सेवा प्रदान गरिने बुद्धले जनाएको छ ।

बुद्धका सूचना अधिकारी दीपेन्द्र कर्णले रात्रिकालिन सेवा दिनका लागि आन्तरिक गृहकार्य भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“पोखरा विमानस्थलमा आइएफआर भइसकेपछि हामीले राति आठ बजेसम्म सेवा दिन गृहकार्य गरिरहेका छौँ । आगामी मार्च ९ देखी रात्रीकालीन उडान सुरु गर्नेछौँ ।”

सुरुआतमा पोखरा—काठमाडौँ रात्रिकालीन उडान भएपनि क्रमशः पोखरादेखी नेपालगञ्ज, भैरहवा, चितवन र भद्रपुर समेत सेवा दिइने कर्णले जानकारी दिनुभयो । बुद्धका चार वटा जहाज राती पोखरामानै रहनेछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआईपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको आज ४२ दिन पुगेसँगै विमानस्थलमा सबै खालका उडान गर्न परिपक्क भएको मानिएको गौतमले बताउनुभयो ।

यसअघि एआईपी प्रकाशन गरेको ४२ दिन नपुगेका कारण यसअघि रात्रीकालीन उडानका लागि समय पर्खिनुपरेको बताइन्छ ।
हाल विमानस्थलमा भिजुअल फ्लाइट रुल्स(भिएफआर) प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण हुँदै थियो ।पाइलटले आँखाले देखेका आधारमा जहाज उडान अवतरण गर्दै आएका थिए । अब भने विमानस्थल उपकरणको सहायताले जहाज अवतरण हुनेछन् ।
आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिएफआरको तुलनामा सुरक्षित समेत रहेको बताइन्छ । पोखराको पुरानो विमानस्थलमा आइएफआर प्रणाली नहुँदा हालसम्म पोखरामा रात्रिकालीन उडान हुन सकेको थिएन ।

पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने र यसबाट पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् । यहाँका पर्यटन व्यवसायीले विगतदेखीनै रात्रिकालीन उडानको माग गर्दै आएका थिए ।अङ्ग्रेजी नयाँवर्षको पहिलो दिन गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरिएको थियो । सोही दिनदेखी आन्तरिक उडान भएपनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरु हुन सकेको छैन ।

विमानस्थल सञ्चालनमा आएको दुई महिना पुग्न लाग्दा समेत एउटा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका पर्यटन व्यवसायी तथा उद्योगी निरास छन् । सरकारले भने अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकहरुसँग कुटनीतिक पहल भइरहेको जनाएको छ ।

Comments
Loading...