कास्कीमा जनयुद्धका शहीद र बेपत्ताका परिवार भेट्दै,सुझाव लिँदै माओवादी

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकीले प्रदेशका ११ वटै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गरेको छ ।

सहिद सप्ताह समेत पारेर यही फागुन १४ गतेदेखी सुरु भएको अभियानमा माओवादीका नेता कार्यकर्ता यतिबेला फिल्डमा खटिएका छन् ।
पार्टीका सबै नेता कार्यकर्ता दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा तलसम्म गएर पार्टी पुनःनिर्माणका बारेमा सुझाव लिने अभियानको लक्ष्य छ ।शहीद सप्ताह समेत रहेको अहिले मुख्य गरी शहीद र बेपत्ताका परिवार भेट्ने माओवादीको कार्यक्रम छ ।

कास्कीमा पनि शहीद तथा बेपत्ता परिवारका घरमा माओवादी नेता÷कार्यकर्ता पुगेका छन् । जिल्लामा प्रदेश सभाका छ तथा प्रतिनिधिसभाका तीन वटै निर्वाचन क्षेत्रमा इन्चार्ज तथा संयोजक तोकेर माओवादीले नेताहरुलाई जिम्मेवारी दिएको छ । नेताहरु शहीद र बेपत्ता परिवारका घर घरमा पुगेर पार्टी पुनःनिर्माणका लागि सुझाव लिइरहेका छन् ।

माओवादी केन्द्र कास्कीका इन्चार्ज राजकाजी गुरुङ(करण)ले ‘जनतासँग पार्टी अभियान’ र शहीद सप्ताह समेत परेकाले पार्टीका सबै नेता कार्यकर्ता दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा तलसम्म गएर पार्टी पुनःनिर्माणका बारेमा सुझाव लिने काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“पार्टीको सवै शक्तिलाई जनतासँग जोड्ने र जनताबाट सुझाव लिने गरी सबै आआफ्नो क्षेत्रमा खटिएका छौँ । यतिबेला शहीद सप्ताह समेत रहेकाले मुख्यगरी शहीद परिवारलाई भेट्ने र उनीहरुका सुझाव लिने गरेका छौँ । ”

क्षेत्र नं ३ को प्रदेशसभा २ निर्वाचन क्षेत्रमा सोमबार र मंगलबार शहीद परिवार भेटघाट कार्यक्रम गरिएको छ । जनयुद्धका शहीद नेत्र लुईटेल, छवि अधिकारी, मुना अधिकारी, धनकुमारी विक, छलिमाया नेपाली ,  विरसुव्बा गुरुङ , रिता नेपाली , दामाेदर गाैतम , दुर्गा पाैडल, इन्दिरा तिवारी, राजविक्रम भुर्तेल, सीता भुर्तेल, कोपिला रानाभाट तथा बेपत्ता हरि पौडेल र रामचन्द्र गिरीका परिवारसँग माओवादी नेता कार्यकर्ताले भेट गरी पार्टी निर्माणका लागि सुझाव लिएका छन् ।

माओवादी केन्द्रीय सदस्यद्धय रामजी प्रसाद बराल, दुर्गा विक, निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेश ख का संयोजक वलराम सुवेदी, अन्नपूर्ण गाउँपालिका कमिटीका सचिव वामदेव पौडेल, माओवादी नेताहरु सूर्य परियार लगायतले शहीद परिवारसँग भेट गर्नुभएको हो । सो अवसरमा शहीद परिवारले आफ्ना परिवारका सदस्यले बगाएको रगत खेर नजाने गरी देश र जनताका लागि काम गर्न आग्रह गरेका थिए ।

शहीद कोपिला रानाभाटका छोरी प्रमिला रानाभाटले आफूहरुका लागि छुट्टै केही गर्न भन्दा पनि शहीदले देखेका सपना पूरा गर्न लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“हाम्रा लागि केही गर्नु प्रदैन । मेरो ममीले जे उद्धेश्यका लागि बलिदान दिनुभयो त्यो पूरा भयो भने हाम्रा लागि ठूलो त्यही हुनेछ ।”

पार्टीका केन्द्रीय सदस्य रामजी बरालले शहीद सप्ताह रहेकाले विशेष गरी शहीद र बेपत्ताका सबै परिवारसँग भेट गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेर राजपत्रमा प्रकाशित गर्ने अन्तिम तयारी भएको जानकारी दिनुभयो । बरालले भन्नुभयो,“हामीले विसं २०६५ मै जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेपनि राजपत्रमा प्रकाशित नभएकाले कार्यान्वयन हुन सकेन । अब छिट्टै सबैलाई शहीद घोषणा गरेर परिचयपत्र दिन्छौँ ।”

नेता बरालले जनयुद्धका पूर्णकालिन र पार्टीका एकता भएपछि सबै पूराना छुटेका कार्यकर्ताहरुसँग र जेल हिरासतमा परेकाहरुको सूची तयार पारी घर घरमा गएर भेटघाट गर्ने, सुझाव लिने र पार्टीमा पुनः संगठित गरिने जानकारी दिनुभयो । जनताबाट प्राप्त सुझाव एक अक्षर पनि तलमाथि नपारी पार्टी हेडक्वाटरमा बुझाइने बरालको भनाई छ ।

 

Comments
Loading...