सङ्घीयताको जग तयार : प्रदेश प्रमुख गुरुङ

हिमाली आवाज । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकमा सङ्घीयताको जग तयार भएको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो ।

पाँच वर्षअघि शूल्य संरचनाबाट सुरु भएको गण्डकी प्रदेश भौतिक, प्रशासनिक र कानूनी पूर्वाधार खडा गर्न सफल भएको प्रदेश प्रमुख गुरुङले बताउनुभयो । प्रदेशलाई स्थापित गर्न सरकार र प्रदेशसभाले खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।

“प्रदेशसभाको प्रथम कार्यकालमा सरकार निर्माण गर्न, कानूनहरु निर्माण गर्न, बजेट तथा योजना निर्माण गर्न यहाँहरुले पु¥याउनुभएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दछु”, प्रदेश प्रमुख गुरुङले भन्नभयो ।

प्रदेशको पञ्चवर्षीय योजनाको कार्यान्वयन, प्रदेश लोकसेवा आयोग गठन, गण्डकी प्रदेश प्रशिक्षणको स्थापना जस्ता कार्यलाई उपलब्धीको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

प्रदेश प्रमुख गुरुङले अहिलेको प्रदेश सरकारले मन्त्रालय संख्या घटाएर प्रदेशबासीमा सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो । ऐन, कानून निर्माणदेखि विकास आयोजनालाई गति दिन प्रदेश सरकारले सक्रियता लिइरहेको उहाँको भनाइ छ ।

“प्रदेशलाई बलियो बनाई प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्रीबाट पटकपटक प्रधानमन्त्रीलाई भेट गरी प्रदेशका समस्या र समाधानका उपायहरुका सम्बन्धमा जानकारी गराउने काम भएको छ”, प्रदेश प्रमुख गुरुङले भन्नुभयो ।

जनअपेक्षा अनुरुप विकास, सुशासन र सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने उहाँले बताउनुभयो । “संविधानमा व्यवस्था गरिएको सबै मौलिक हक अधिकारको व्यवहारमा अबलम्वन गर्न÷गराउन बाँकी नै छ, सेवा प्रवाहलाई सहज र सरल बनाउनु जरुरी छ”, प्रदेश प्रमुख गुरुङले भन्नुभयो ।

उहाँले ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य प्राप्तिका लागि वर्तमान गण्डकी सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विकास र समृद्धि कुनै राजनीतिक दल वा समूह विशेषको निजी विषय नभई नागरिकको साझा विषय भएको प्रदेश प्रमुख गुरुङले उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशको समृद्धिका लागि पर्यटन, उर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासनलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख गुरुङले सबैको संयुक्त प्रयासबाट गण्डकीले समृद्धि हाँसिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...