पोखरामा प्रदेशस्तरीय विज्ञान प्रविधि महोत्सवको तयारी

हिमाली आवाज । पोखरामा आगामी जेठ ४ र ५ गते गण्डकी प्रदेशस्तरीय विज्ञान प्रविधि महोत्सव हुने भएको छ । हिमालय साइन्स फाउण्डेसनको आयोजनामा हुने सो महोत्सवमा कक्षा ८ देखी १२ सम्मका सबै सरकारी तथा निजी विद्यालयहरुका विद्यार्थीहरुले आफ्नो विज्ञान प्रविधिको प्रोजेक्ट सहित सहभागिता जनाउन सक्नेछन् । महोत्सवमा ५० वटा स्टल रहने आयोजकले जनाएको छ ।

देशभित्रका रहेका वैज्ञानिक प्रतिभाहरुको प्रतिभा प्रस्फुटनको गराउने उद्देश्यले महोत्सव गर्न लागेको बिहीबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा फाउण्डेसनका अध्यक्ष आतंक बस्नेतले जानकारी दिनुभभयो ।

उहाँका अनुसार महोत्सवमा विद्यार्थीले फोहोर व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने प्रविधि, हार्डवयर तथा सफ्टवेयर एप्लिकेसन, किसानलाई सहयोग गर्ने नविन कृषि औजार , वायू प्रदुषण शुद्धिकरण प्रविधि, उर्जाका वैकल्पिक श्रोत, रसायनिक मलको वैकल्पिक श्रोत र खोलाबाट माथि पानी तान्ने प्रविधि लगायतका विषयमा केन्द्रित भएका प्रोजेक्ट प्रर्दशनीमा राखिने छ ।

महोत्सवमा प्रथम हुनेलाई नगद ३० हजार, द्वितिय हुनेलाई २५ हजार , तितृय हुनेलाई २० हजार र सान्तवना हुने २ वटा प्रोजेक्टलाई नगद ६–६ हजार रुपैयाँ, प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।

सातै प्रदेशमा महोत्सव सञ्चालनको तयारी गरेको फाउण्डेसनले यसअघि लुम्बिनी प्रदेशको नेपालगञ्जमा सम्पन्न गरिसकेको छ । कार्यक्रममा एन–प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी,पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, विज्ञान शिक्षक समाज गण्डकीका अध्यक्ष राजकुमार ढकाल, विज्ञान समाज कास्कीका अध्यक्ष शान्ताराम लामिछाने लगायतले यस्ता खालका कार्यक्रमले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुनुका साथै पठनपाठनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

Comments
Loading...