शान्त र ब्रम्हरुपालाई सामुदायिक विद्यालय छात्र÷छात्रा भलिबलको उपाधि

हिमाली आवाज । पोखरामा सञ्चालन भएको पाँचौं संस्करणको सृजना कप अन्तर सामुदायिक विद्यालय छात्र तथा छात्रा भलिबल प्रतियोगिताको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् ।

राष्ट्रिय खेल भलिबलको विद्यालयतहदेखीनै विकास गर्ने उद्धेश्यले यही फागुन १६ गतेदेखी पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै पोखरा महानगरपालिका—१८ मा अवस्थित शान्तले छात्रातर्फ उपाधि रक्षा गरेको हो ।

शान्त मावि गत वर्षको च्याम्पियन टोली समेत हो। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधि सहित रु एक लाख पुरस्कार पाएको छ ।

यसैगरी छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखराको राजाको चौतारास्थित ब्रम्हरुपाले उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २५–१८, १९–२५, २५–२०, १५–२५ र १५–१३ सेटमा हरायो । पहिलो सहभागितामै उपाधिसहित ब्रम्हरुपाले रु एक लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता राष्ट्रिय माविले रु ६० हजार पुरस्कार पायो ।
छात्रातर्फ जनप्रिय मावि र छात्रतर्फ साविक विजेता शान्त मावि तृतीय हुन सफल भयो ।तृतीय हुने टोलीले रु ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।उत्कृष्ट खेलाडी छात्रातर्फ शान्त माविका जमुना गुरुङ र छात्रतर्फ ब्रम्हरुपाका सुदीप परियार बन्नुभयो ।

छात्रातर्फ उत्कृष्ट सर्भर शान्तकी त्रिशला बराम, सेटर कन्याकी हिरा रोका, डिफेन्डर कन्याकै तुलकुमारी थापा, ब्लकर शान्तकी शोभा पाइजा, स्पाइकर जनप्रियकी स्माइल पुल, प्रशिक्षक शान्तका दिनेश चौधरी घोषित हुनुभयो ।

छात्रतर्फ उत्कृष्ट सर्भर शान्तका ज्ञानु परियार, ब्लकर राष्ट्रियका राजकुमार सुनार, डिफेन्डर ब्रम्हरुपाका मनिष ठकुरी, सेटर ब्रम्हरुपाकै अञ्जन सुनार, स्पाइकर राष्ट्रियका अनिल परियार, प्रशिक्षक ब्रम्हरुपाका सुन्दर श्रेष्ठ घोषित हुनुभयो । सर्वोत्कृष्ट छात्र÷छात्रा दुवैलाई जनही रु पाँच हजार र अन्य छ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरियो ।

विजेतालाई प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, भलिबल सङ्घका केन्द्रीय सल्लाहकार नारायण शर्मा, सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, कास्की जिल्ला भलिबल सङ्घ अध्यक्ष विष्णु गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पाँचौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका थिए ।

Comments
Loading...