चर्चित मर्दी पदयात्रामा केन्द्रीय प्रसारण लाइनको विद्युत पु¥याइदै

हिमाली आवाज । कास्कीको उत्तर पश्चिममा रहेको मर्दी हिमाल पदयात्रा विश्वमै प्रख्यात छ । दशकअघिसम्म गुमनाम जस्तै रहेको माछापुच्छ«े गाउँपालिकामा पर्ने यो ट्रेकिङ रुट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा छ । हाल मर्दी क्षेत्रभरी पर्यटक भेटिन्छन् । पर्यटकलाई सेवा दिन यहाँ साना ठूला गरी ८० लज तथा रेष्टुरेन्टहरु यहाँ खुलेका छन् ।

वर्षेनी पर्यटक वृद्धि भएपनि पर्यटकले विद्युत, इन्टरनेट र टेलिफोनको सुविधा पदयात्रामा पाउन सकेका छैनन् । मर्दीमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन अझै पुग्न नसक्दा बत्ती बाल्न देखी लिएर मोवाइल चार्ज गर्न समस्या छ ।

मर्दीको कालिमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत सेवा पुगेको छ । जसबाट पर्यटकले हैरानी पाउने गरेका छन् । विजुली बत्ती नहुनु मर्दीको प्रमुख समस्या हो ।

मर्दी क्षेत्रका पर्यटन व्यवसायी, गाउँपालिका लगायतको प्रयासपछि अब भने मर्दी पदयात्रामा विद्युत प्राधिकरणले केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा विस्तारको तयारी गरेको छ ।

मर्दीको माथिल्लो क्षेत्रसम्मै विजुली बत्ती पु¥याउनका लागि नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले ठेक्का आह्वान गरेर सम्झौताको तयारी भएको माछापुच्छ«े—८ का वडाध्यक्ष राम गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामीले लामो समयदेखी मर्दीमा विद्युतीकरणका लागि माग गरेका थियौँ, अहिले केन्द्रीय प्रसारण लाइनबाट विजुली विस्तारका लागि प्राधिकरणबाट ठेक्का आह्वान भएर केही दिनमा खुल्दैछ । मर्दीको पर्यटनमा यसले ठूलो योगदान पुग्नेछ ।”

विद्युत विस्तारका लागि माछापुच्छ«ेको सिदिङ वा कालीमाटीको ट्रान्सर्फरबाट माथिल्लो क्याम्पसम्म हाइटेन्शनमार्फत लैजाने गरी पोखरा वितरण केन्द्रले गत वर्ष अध्ययन गरेपनि काम सुरु भएको थिएन । यस वर्षको सुरुआतमै प्राधिकरणले प्राथमिकतामा राखेर काम अघि बढाएको थियो ।

मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका संस्थापक सचिव एवं मर्दी हिमाल इको भिलेजका सञ्चालक शिवप्रसाद भण्डारीले विद्युत नहुँदा पदयात्रामा आउने पर्यटकलाई मोबाइल र क्यामेरा चार्जदेखि इन्टरनेट सुविधा उपलब्ध गराउनसमेत कठिन भएको बताउनुभयो ।
मर्दीको केही क्षेत्रमा सोलारबाट बत्ती बाल्ने र इन्टरनेट सुविधा रहेपनि मौसम प्रतिकुल हुँदा समस्या पर्ने गरेको थियो ।

“मर्दी क्षेत्रको मुख्य समस्या भनेकै बिजुली बत्तीको थियो । बिजुली नहुँदा पर्यटकलाई चाहेजस्तो सुविधा दिन सकिएको छैन, पर्यटक बढेसँगै होटल अत्यधिक बढे तर पर्यटकलाई सुविधा भएन । अहिले बिजुली लैजान ठेक्का आह्वानसँगै हामी उत्साहित छौँ ।” पर्यटन व्यवसायी भण्डारीले भन्नुभयो ।

मर्दी क्षेत्रमा पर्यटकको चाप बढेसँगै होटल खुल्ने क्रम वृद्धि भए पनि बिजुली नहुँदा समस्यामा परेको पर्यटन व्यवसायीले गुनासो थियो । मर्दी हिमाल पदयात्रा क्षेत्रको डुँढखर्क, फरेष्ट क्याम्प, रेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प क्षेत्रमा पर्यटकलाई सेवा दिनका लागि होटलहरु सञ्चालनमा छन् ।

Comments
Loading...