रेन्वो चिल्ड्रेन होमको ध्येय:बालबालिकालाई खुशी र सुखी रुपमा संरक्षण

हिमाली आवाज । पोखरा महानगरपालिका—६ लेकसाइडमा रहेको रेन्वो चिल्ड्रेन होमले सहारा विहीन बालबालिकालाई आश्रय दिएर उनीहरुलाई खुशी र सुखी रुपमा संरक्षणको उद्धेश्य राखेको छ ।

बालबालिकाहरुलाई सम्मानका साथ आदर, आत्मनिभरता गुणस्तरिय संरक्षणको व्यवस्था गर्दै सक्षम, स्वाबलम्वि र असल नागरिक वनाई समाजमा पुनस्र्थापना गर्ने मुख्य लक्ष्य संस्थाको रहेको बताइन्छ ।

होमको शनिबार पोखरामा सम्पन्न सामाजिक लेखाजोखा कार्यक्रममा आवासीय संरक्षणमा रहेका बालबालिकालाई न्युनतम १२ कक्षा सम्मको निशुल्क शिक्षा प्रदान गर्ने र निजहरुको क्षमता अभिबृद्धिका लागी सिपमुलक तालिम दिई आत्मनिर्भर वनाउने लक्ष्य रहेको रेन्वो चिल्ड्रेन होमका सञ्चालिका गोमा ढकालले बताउनुभयो ।

होमले ३० जना बालबालिकालाई आश्रय दिएर राखेको र त्यसको गत वर्षको वार्षिक खर्च एक करोड एक लाख ६२ हजार ३६ रुपैयाँ खर्च गरेको जानकारी दिइयो । सो अवधिमा होमले एक करोड २१ लख ७७ हजार ५ सय ५२ रुपैयाँ आम्दानी गरेको छ ।

सामाजिक लेखाजोखा कार्यक्रममा होमले आश्रित बालबालिकालाई सबै मापदण्ड पूरा गरेर राखेको पाइएको सामाजिक लेखाजोखा सहजकर्ता एवं अधिवक्ता भीमप्रसाद पौडेलले जानकारी दिनुभयो । होमले बालबालिकालाई शिक्षासँगै सीपमूलक तालिमपनि दिने गरेको छ । होमले अर्गानिक खाना खुवाउनका लागि अर्गानिक फारम सञ्चालन गरेको र कतिपय अवस्थामा सो फारम आम्दानीको श्रोतसमेत बनेको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले चिल्ड्रेन होमहरुले विपन्न तथा असहायः बालबालिकालाई आश्रय दिएर राज्यको दायित्व निर्वाह गरिरहेको बताउनुभयो । उहाँले सरकारी नीति नियमको पालना गर्नु सबै बालगृह सञ्चालकको दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, बालअधिकार समन्वय परिषद गण्डकीका प्रमुख बद्री वाग्ले, रेन्वो चिल्ड्रेन होम नेपालका वरिष्ट सल्लाहकार अग्नी कँडेल, एनजिओ फेडेरेशनका केन्द्रीय सदस्य बिजयकुमार प्रधान, बालगृह सञ्जाल कास्कीका अध्यक्ष मोहन त्रिपाठी, नमूना आमा समूह बैदामकी अध्यक्ष जुना अधिकारी लगायतले रेन्वो चिल्ड्रेन होम बालगृहहरु मध्येको नमूना भएको बताउनुभएको थियो ।

रेन्वो चिल्ड्रेन होम विसं २०६५ असोज २९ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यलय कास्कीमा दर्ता भएको संस्था हो । पोखरा महानगरपालिका वडा नं. ६ मा मुख्य कार्यालय रहेको यस संस्थाले संरक्षण विहिन एवं गरिव र विपन्न वर्गका बालबालिकालाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ ।

हाल ३० जना बालबालिकालाई आवासीय संरक्षण र ३८ जना बालबालिकालाई समुदायमा सहयोग प्रदान गर्दै आएको यस संस्थाले आत्मनिर्भरताको लागी अर्गानिक कृषि फार्म पनि संचालन गरिरहेको संस्थाका अध्यक्ष कमला ढकालले जानकारी दिनुभयो ।

Comments
Loading...