पोखरामा ‘ह्याप्पी होली’ भन्दै रङ्गमा रमाए पर्यटक

हिमाली आवाज । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा रङको माध्यमबाट एकापसमा खुशी साटासाट गर्ने पर्व फागुपूर्णिमा आज हर्षोल्लासका साथ मनाइएको छ ।

पोखरा बजार सहित पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा स्वदेशी सहित विदेशी पर्यटकले समेत एकापसमा विभिन्न रङ तथा अविर दलेर होलीमा रमाएका छन् ।

पोखरा घुम्न आएका पर्यटकले एकापसमा रङ दलेर शुभकामना आदानप्रदान गरी होली मनाएका हुन् । पोखरामा विभिन्न सङ्घ संस्थाले समेत सामूहिक होली मनाएका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाले महासङ्घको भवनमा होली मिलन कार्यक्रम गरेको थियो । सञ्चारकर्मीहरुले रङ दलेर शुभकामना आदान प्रदान गरी होली मनाएका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसमा विभिन्न विद्यार्थी संघठनले समेत सामूहिक होली मनाए ।

पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकदेखी डिहीकोपाटनसम्मको तीन किमी क्षेत्रमा पर्यटकले रङ लगाउँदै र नाच्दै गाउँदै होलीको रमाइलो गरे । फेवाताल किनारमा समेत होली मनाउनेहरुको सङ्ख्या उत्तिकै थियो ।

पर्यटकहरु ‘ह्याप्पी होली’ भन्दै रङ्ग लगाएर खुशी साटासाट गरिरहेका थिए । आन्तरिक पर्यटक सहित भारतीय र तेस्रो मुलुकबाट घुम्न आएका पर्यटकहरु होलीमा सहभागी भएका हुन् ।

फागुपूर्णिमाका अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएसन(रेवान) पोखराले होली महोत्सवको आयोजना गरेको थियो । महोत्सवमा विभिन्न साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो । पर्यटकहरु महोत्सवमा रमाएका थिए ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागी गराई नेपालको संस्कृति र पर्वका बारेमा जानकारी गराउँदै एकापसमा मित्रता र सद्भाव साटासाट गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको रेवान पोखराका महासचिव विकास भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो,“आन्तरिक तथा बाह्य पर्यटकलाई सामूहिक होली मनाउने अवसर प्रदान गर्न महोत्सव आयोजना गरेका हौँ । यसले पोखराको पर्यटन प्रवद्र्धनमा समेत मद्धत पुगेको छ ।”

पर्वका अवसरमा घट्न सक्ने घटनालाई मध्यनजर गरी विहानैदेखी पोखराको सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रहरीले बजारका विभिन्न क्षेत्रमा चेक जाँच गरी अवाञ्छित क्रियाकलाप हुन नदिन सतर्कता बढाएको थियो । पर्व मनाउने नाममा व्यक्तिको इच्छा विपरित जथाभावी रङ दल्ने, लोला हान्ने,सार्वजनिक स्थानमा होहल्ला गर्ने लगायतका कार्यलाई नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा देशभर होली पर्व मनाउने प्रचलन छ । होलीमा एकापसमा रङ दलेर पर्व मनाउने गरिन्छ । तराईमा भने भोली हर्षोल्लासका साथ होली मनाउने गरिन्छ ।

Comments
Loading...