शान्ति सम्झौता र गणतन्त्र बिरोधी गतिबिधि नियन्त्रण गर्न वाइसीएल गण्डकी र कास्कीको सरकारसँग माग

हिमाली आवाज । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाईसीयल) गण्डकी प्रदेश र कास्की जिल्ला समन्वय समितिले विस्तृत शान्ति सम्झौता र गणतन्त्र बिरोधी गतिबिधि नियन्त्रण गर्न माग गरेको छ ।

वाईसियलले आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाउँदै देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा सरकारलाई ५ बुदे ज्ञापनपत्र पठाएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध प्रतिगामी शक्तिहरुको अस्वभाविक गतिविधिहरु भएको विरुद्ध ध्यानाकर्षण गराउदै ब्यवस्था विरोधी, अराजक, अस्वाभाविक गतिविधिहरुको नियन्त्रण गर्दै संविधान रक्षा, विकास र ब्यवस्थाको सुदृढीकरण गर्न ज्ञापनपत्रमा उल्लेख छ ।

देशमा शान्ति र स्थानयित्व निर्माण गर्न तत्कालीन सरकार र माओवादी विच भएका १२ बुँदे विस्तृत शान्ति सम्झौतालाई प्रभावकारी रुपमा कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कामहरुको निरुपण तथा मेलमिलाप आयोगबाट समाधानको माग गर्दै ज्ञापन बुझाएको योङ कम्युनिष्ट लिग नेपाल कास्कीका इन्चार्ज भोजराज पौडेलले बताउनुभयो ।

जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत ब्यवस्था परिर्वतनका क्रममा सहादत प्राप्त गर्ने योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न, सहिदका परिवारलाई राहत, क्षतिपुर्तिको ब्यवस्था गर्न वाइसिएलले माग गरेको छ ।

देशको अर्थतन्त्र चरम संकटमा छ, साना ठुला उद्योगी ब्यापारीहरु विस्थापित हुने अवस्थामा पुगेको उल्लेख गर्दै वित्तिय संघसंस्थाहरुबाट निम्तिएका समस्याहरुमा गम्भिर बन्न सरकारलाई आग्रह गर्दै यिनको रोकथाम र नियन्त्रण गरेर अर्थतन्त्रलाई मजबुद बनाउन ध्यानाकर्षण गरेका छन् ।

सरकारका विभिन्न निकायहरुबाट भैरहेको भ्रष्टाचार, घुसखोरी, अनियमितता र ढिलासुस्तीहरुको रोकथाम र नियन्त्रण गरेर देशमा सुशासन कायम गर्न सरकार समक्ष माग गरेका छन् ।

ज्ञापनपत्र बुझाउने कार्यक्रमा वाईसियल नेपालका केन्द्रिय सदस्य एवं कास्की इन्चार्ज भोजराज पौडेल, गण्डकी प्रदेशका संयोजक शरण सापकोटा, कास्कीका संयोजक एंगेल्स कार्की, सचिव रामचन्द्र पौडेल, पोखरा महानगरका संयोजक बलराम तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

वाइसिएयलले आज साँझ पोखराको महेन्द्रपुलमा विरोध सभाको आयोजना गरी संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरुले केही दिनयता गरिरहेको अस्वभाविक गतिविधि रोक्न सरकारसँग माग गरेको थियो ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रचण्ड विरूद्ध दायर गरेको रिट खारेजको माग गर्दे वाइसियल र अखिल क्रान्तिकारीले विरोध सभा गरेका हुन् ।

Comments
Loading...