पोखराका क्रियाशील पत्रकारलाई भाषा सम्पादन तालिम

हिमाली आवाज । क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम सुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुक्रबार देखि आइतबार सम्म तालिम हुनेछ ।

तालिमको सहजकर्ताको रुपमा भाषाविज्ञ शरच्चन्द्र वस्ती र विमल आचार्य रहनुभएको छ । तालिमको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभयो । उहाँले भाषा अग्रगामी हुने र भाषाको विषयमा पत्रकार सक्षम हुनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ । तालिमले भाषाको कलात्मकताको विषयमा सुधार ल्याउन मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सहजकर्ता शरच्चन्द्र वस्तीले मुल संचार माध्यम भनेकै भाषा भएको उल्लेख गर्दै सबैखालको विषयगत रिर्पोटिङका लागि भाषा महत्वपूर्ण भएको बताउनुभयो ।

प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले संचारमाध्यममा आएका समाचारमा भाषाशैली स्तरिय नहुँदा समस्या आएको जिकिर गर्नुभयो ।
पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोबिन्द सुवेदीले भाषा शुद्धिकरणमा तालिम महत्वपूर्ण हुने विश्वास गर्नुभयो ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पोखरा महानगरपालिकाको सहयोगमा आयोजना गरिएको भाषा सम्पादन तालिम फलदायी हुने विश्वास व्यक्त गर्दै भाषा माथि नै प्रश्न चिन्ह खडा हुँदा भाषा सम्पादनको तालिम आवश्यक ठानेर आयोजना गरिएको बताउनुभयो ।

तालिमका संयोजक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले नेपाली भाषामा पटकपटक आक्रमण हुँदा समस्या खेप्नुपरेको बताउनुभयो । उहाँले समस्या समाधान गर्न यस्ता तालिमको आवश्यक पर्ने धारणा राख्नुभयो । तालिममा ५५ जनाको सहभागिता छ ।

 

Comments
Loading...