कास्कीको पर्यटकीय गन्तव्य सिक्लेस जाने सडक कालोपत्रे सुरु

हिमाली आवाज । देश तथा विदेशमा समेत पर्यटकीय हिसावले प्रख्यात कास्कीको मादी गाउँपालिका—१ सिक्लेस पुग्ने सडक कालोपत्र सुरु भएको छ ।

काहुँखोला—सिक्लेस सडक खण्डको विसं २०५८ मा ट्रयाक खुलेको दुई दशकपछि बाटो स्तरोन्नति गरी कालोपत्र गर्ने काम सुरु भएको हो ।
सो सडकखण्डमा पहिलो चरणमा विजयपुरखोलादेखी थाकको उकालोसम्म यही फागुन २८ देखी कालोपत्र गर्न सुरु भएको मादी—७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार विहान १० बजेदेखी साँझ ४ बजेसम्म यातायात पूर्ण बन्द गरेर सडक कालोपत्रको काम भइरहेको छ ।

पोखरा महानगरपालिका—१३ विजयपुरखोलादेखी सिक्लेससम्मको ३२ किमी सडक मध्ये हाल पहिलो चरणमा १० किमीको निर्माण कार्य भइरहेको हो । निर्माण कम्पनीले चैत महिनामा कालोपत्रे सम्पन्न गर्ने प्रतिवद्धता जनाएको वडाध्यक्ष गुरुङले बताउनुभयो।

उहाँले भन्नुभयो,“लामो समयको प्रतिक्षा र मेहनतपछि घर गाउँमै पक्की सडक पुगेसँगै गाउँले उत्साहित भएका छन् । चैत महिनाभित्रमा कालोपत्रे सम्पन्न गर्ने प्रतिवद्धता निर्माण कम्पनीले गरेको छ, यसबाट उत्तरी मादीका जनतालाई ठूलो राहत मिल्नेछ ।”

यसैगरी थाकदेखी माथिको १० सडक समेत स्तरोन्नतिको काम सुरु भएको छ । रौताहा कन्स्ट्रक्सनले छ महिनादेखी सडक फराकिलो बनाउने काम गरिरहेको हो ।

गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय कास्कीले सो सडक स्तरोन्नतिका लागि विसं २०७७ मा काष्ठमण्डप कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सो सडकको लागत रु २२ करोड २६ लाख ७८ हजार ८५३ छ । सडक दायाँबायाँ नालाबाहेक सात मिटर फराकिलो बनाइएको छ ।

मादी गाउँपालिका—१ स्थित सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा प्रख्यात छ । दृश्यावलोकन र सुन्दर गुरुङबस्तीले यहाँ पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पक्की सडकबनेसँगै सिक्लेससहित ताङतिङ, क्रपुडाँडा, कफूचे ताललगायत मादीका पर्यटकीयस्थलमा जाने पर्यटकलाई समेत सहज हुने विश्वास गरिएको छ ।

सिक्लेसलाई नेपालको शान्ति प्रक्रियाको सुरुआतस्थलका रुपमा समेत लिइन्छ । विसं २०६३ मा तत्कालीन विद्रोही नेकपा(माओवादी माओवादी) र सरकारकाबीच सिक्लेसमा पहिलोपटक बार्ता भएको थियो ।

तत्कालीन विद्रोही नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाबीच सिक्लेसमा बार्ताभएपछि प्रचण्ड केहीदिनमै राजधानी काठमाडौँमा सार्वजनिक हुनुभएको थियो ।

सिक्लेसमा शान्ति स्तम्भसहितको पूर्वाधार निर्माण गरिएकाले नेपालको शान्ति प्रक्रियाको अध्ययन स्थलमा विकास भएको छ ।

Comments
Loading...