आमाको मिर्गौला छोरामा सफल प्रत्यारोपण,आमा निकै खुशी

हिमाली आवाज । पोखरामा आमाको मिर्गौला छोरामा सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा मिर्गौला प्रत्यारोपण गरिएको हो ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ४ तङ्ग्राम निवासी कमला पुनको मिर्गौला उनका छोरा २५ वर्षका बोमबहादुर पुनकोमा प्रत्यारोपण गरिएको हो ।स्थानीय सहयोगदाताको साथ र आफ्नो मिर्गाैलाका कारण छोराको जीवनरक्षा भएकोमा आमा कमला निकै खुसी हुनुभयो ।

“आफैँले जन्माएको छोरा मृत्युको मुखमा पुगेको कसरी हेर्नु ? अङ्गदान दिएर छोरालाई बचाएँ, बरु उसैको काखमा मरुँला”, छोरालाई मिर्गाैला दान दिएर पुनर्जन्म दिएकी आमा कमला भन्नुभयो, “मिर्गाैलाको सफल प्रत्यारोपणपछि छोराले पुनर्जन्म पाउँदा निकै खुसी छु, छोराको जीवनरक्षाका लागि आर्थिक सहयोग गर्नेलाई हृदयदेखि धन्यवाद छ ।”

छोराको जीवनरक्षाका लागि आफूले मिर्गाैला दिने निर्णय गरेको बताउँदै पुनले आफूले जन्म दिएको छोरा बाँचेको हेर्ने रहर पूरा भएको बताउनुभयो । दुवै मिर्गाैला फेल भएर जीवनमरणको दोसाँधमा पुगेका २५ वर्षीय बोमबहादुरले जन्मदाता आमाको मिर्गाैला पाएर पुनर्जीवन पाउनुभयो । आमाको मिर्गाैला पाएर पुनर्जीवन पाएका २५ वर्षीय बोमबहादुर अहिले पोखरामा उपचाररत हुनुहुन्छ ।

“अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा पोखरामै आमा छोरा बस्दै आएका छौँ, आमाले दिएको मिर्गाैलाले पुनर्जन्म पाएँ”, मिर्गाैलाको सफल प्रत्यारोपण गरेका बोमबहादुरले भन्नुभयो, “उपचारका लागि धेरै रकम खर्च भयो, जसका लागि हाम्रो परिवारको क्षमताभन्दा माथि थियो, तर देश विदेशमा रहनुभएका आफन्तजन र शुभेच्छुकबाट रु २० लाख सहयोग प्राप्त भयो, जसले मेरो जीवनरक्षाका लागि सहयोग पुग्यो ।”
गत भदौमा दुवै मिर्गाैला फेल भएको पत्तो पाएका बोमबहादुरको उपचारका लागि आर्थिक समस्या परेको थियो ।

 

Comments
Loading...