पोखरा देशका प्रमुख शहरसँग हवाईमार्गबाट जोडियो

रामबहादुर थापा
गण्डकी । हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ ।वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँसहित पाँच गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन्।

हाल पोखरालाई काठमाडौँ, भरतपुर, भैरहवा, नेपालगञ्ज र भद्रपुरसँग हवाई सञ्जालले जोडेको छ । कोभिड–१९ महामारी जस्ता कारणबाट बन्द उडान सेवा पनि पुनः सञ्चालन गर्ने तयारीमा हवाई सेवा कम्पनी छन् ।

यसअघि पोखराबाट धनगढी, विराटनगर, सिमरा र जनकपुरमा पनि सिधा उडान हुँदै आएको थियो । हवाई यात्रुको आउजाउ घटेपछि ती गन्तव्यमा उडान सेवा रोकिएको थियो ।

पर्यटकीय गतिविधि पूर्ववत् स्थितिमा फर्कन थालेसँगै पोखरा आउने यात्रुको चाप बढ्ने विश्वास लिइएको छ । आन्तरिकसँगै विदेशी पर्यटकको आवागमनलाई लक्ष्य गरी सीमा क्षेत्र नजिकका सहरसँग पोखराको हवाई सम्पर्क स्थापित गरिएको हो । गत साता मात्रै निजी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा–भद्रपुर सिधा उडान सुरु गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले पोखराको पर्यटनमा आशलाग्दो अवस्था देखिएको बताउनुभयो । “म आफैँ काठमाडौँदेखि फर्कंदा जहाजमा झन्डै आधा यात्रु विदेशी देखेँ, यो हाम्रा लागि सुखद खबर हो”,उहाँले भन्नुभयो । विमानस्थल प्रमुख गौतमले पर्यटकको चापलाई हेरेर विमान कम्पनीले उडान थपघट गर्ने बताउनुभयो ।

“यात्रु नपाए एयरलाइन्सले सेवा विस्तार गर्ने कुरा हुँदैन, पर्यटक बढे उडान थपिन्छ, नयाँ गन्तव्य पनि विस्तार हुन्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय आन्तरिक हवाई यात्रुको सङ्ख्या पनि बढ्दो छ । कोभिडकालदेखि सुरक्षित यात्राका लागि पनि कतिपयले हवाई मार्ग रोज्न थालेका हुन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हवाई सञ्जाल विस्तारले पोखराको पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । “हवाई मार्गबाट नयाँनयाँ गन्तव्यमा पोखरा जोडिनु भनेको पोखराको पर्यटन उकासिनु हो”,उहाँले भन्नुभयो,“केही महँगो परे पनि छिटो र सहज यात्राका लागि पर्यटकले हवाई मार्ग रोज्छन्, पोखरा हवाई यात्राका लागि सुरक्षित छ भन्ने सन्देश दिनुपर्छ ।”
अध्यक्ष अधिकारीले ‘नाट्टा’कै पहलमा पोखराबाट विभिन्न प्रदेशका सहरसम्म हवाई उडान सुरु गरिएको बताउनुभयो । पोखरामा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । चीनले कोभिड–१९ महामारी थामिएपछि हालै गन्तव्य देशका रुपमा नेपाललाई राखेको छ । चीनको सो निर्णयबाट पोखरा घुम्न आउने चिनियाँ पर्यटक बढ्ने अपेक्षा लिइएको छ । भद्रपुर, जनकपुर, सिमरालगायत सीमा छेउका सहरबाट सिधा उडान हुँदा भारतीय पर्यटक सहज रुपमा पोखरा भित्रने व्यवसायी बताउँछन् ।

Comments
Loading...