कास्कीका अधिकृतहरु बाग्लुङ तथा पर्वतका पर्यटकीय गन्तव्यको भ्रमणमा

हिमाली आवाज । कस्केली अधिकृत समाजले शनिबार बाग्लुङ तथा पर्वतका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको छ ।
पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई भ्रमणका माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यका साथ वार्षिक रुपमा गर्दै आइएको भ्रमण यस वर्ष पर्वत तथा वाग्लुङका पर्यटकीय गन्तव्यलाई केन्द्रित गरिएको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले जानकारी दिनुभयो ।

समाजले विभिन्न रचनात्मक कार्यक्रमका माध्यमबाट समाजमा केही न केही योगदान पुगोस् भन्ने हेतुका साथ यस किसिमका कार्यक्रमलाई जोड दिएको उहाँले बताउनुभयो ।

कस्केली अधिकृत समाजका सदस्य एवम् परिवारजन समेत ५० जनाको सहभागिता रहेको र सो क्रममा बाग्लुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम संग्रहालय, पर्वतका अग्ला पुल लगायतको अवलोकन गराइएको समाजका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक लोकनाथ दवाडीले जानकारी दिनुभयो ।

कार्यक्रमकै क्रममा गण्डकी प्रदेश खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमल्सिना र कृषि विकास बैंकका बरिष्ठ शाखा अधिकृत गायत्री सुवदीलाई समाजको नयाँ सदस्यका रुपमा स्वागत गरिएको समाजका सचिव महेश पौडेलले बताउनुभयो । अघिल्ला दुई वर्ष कोरोना कहरका कारण यस किसिमको कार्यक्रम सञ्चालन गर्न नसकिए पनि आगामी वर्ष यसलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

यस किसिमको कार्यक्रमले गन्तव्यस्थलको प्रवद्र्धनसँगै समाजका कार्यसमिति एवम् आजीवन सदस्यबीच आपसी भाइचारा अभिबृद्धि हुने समाजका सल्लाहकार एवम् पूर्व अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले बताउनुभयो । समाजले गर्दै आएका विभिन्न साहित्यिक कार्यक्रम, नियमित पुस्तक तथा क्यालेन्डर प्रकाशनसँगै यस किसिमका गतिविधिले समाजको गतिशिलता एवम् गरिमा बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रमका लागि उपाध्यक्ष लोकनाथ दवाडीको संयोजकत्वमा महेश पौडेल, वासुदेव पौडेल, सन्तोष ढुङ्गाना, अनिल सुवेदी र मैया पराजुली रहनुभएको उपसमिति गठन गरिएको थियो ।

Comments
Loading...