पर्यटकीय शहर पोखरामा होटल पौवाको सेवा सुरु

हिमाली आवाज । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले सुन्दर पर्यटकीय शहर पोखराको लेकसाईडमा आफ्नो आतिथ्य सेवा सुरु गरेको छ ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गरेको पौवाले नेपालकै पर्यटन उद्योगको प्रमुख गन्तव्य पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ बाट आफ्नो ११औं शाखा सञ्चालनमा ल्याएको हो । पौवाको ११ औ शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत्र १० गते बिहान १० बजे औपचारिक उदघाटन गर्नुहुनेछ ।

विविध कार्यक्रमका साथ पौवाले शाखा संचालनको औपचारिक शुभारम्भ गर्न लागेको हो । शुभारम्भको अवसरमा यही चैत १०, ११ र १२ गते ३ दिनमा पौवा स्वाद उत्सव, पौवाका सबै शाखाका सेफहरुबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताउनुभयो ।

उद्घाटन कार्यक्रमसहित विविध कार्यक्रमको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले पौवामा आएर खानाको स्वाद चाख्न सबैलाई आग्रह समेत गर्नुभयो । ‘कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनायो । त्यसमा पनि होटल व्यवसाय झन बढी मारमा पर्यो । तर, पछिल्लो समय विस्तारै बाह्य पर्यटकहरुको आगमन बढ्न थालेसँगै होटल उद्योगहरु पनि चलायमान हुन थालेका छन् ।’ ज्ञवाली भन्नुभयो ।

‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपुर्ण छ । तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौ’, ज्ञवालीले थप्नुभयो, ‘आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय संचालन गर्न सकिन्छ भन्ने आफुहरुको अनुभव रहेकै कारण पोखरामा प्रवेश गरेका हौं । हामी प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता सबै नेपालीपनको हुने प्रतिवद्धता जनाउँछौं ।’
पोखरामा पौवाको प्रवेश

सामान्यतयाः नेपाल घुम्ने बाह्य र आन्तरिक पर्यटकको पहिलो रोजाई पोखरा हो । पोखरा आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले पोखरालाई आफ्नो रोजाईमा पारेको जनाइएको छ । प्रबन्ध निर्देशक ज्ञवालीले भन्नुभयो ‘पौवाले दिने आतिथ्य पोखरा आउने पर्यटकका लागि अविस्मरणीय हुनेछ । पोखराबासी र बाहिरका सबै पाहुनाहरुलाई पुनः पौवामै आउने, पौवामै बस्ने, पौवामै कार्यक्रम गर्ने बनाउन हामीले मन, वचन र कर्मले इमान्दारीपूर्वक सेवा सत्कार दिनेछौं ।’

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रुपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताउनु भयो । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । ‘होटल प्रवेश गरेदेखि बिदाई हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो ।’

१० वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले ११ औं शाखाको रुपमा पोखरामा करिब १० करोड बढी लगानी गरेको छ भने पोखरामा अझै थप लगानी गर्न योजना रहेको पवन्धनिर्देशक ज्ञवालीले बताए । पौवाको लक्ष्य अनुसार मिशन १०० मा पुग्दा पौवाको लगानी अरवौं पुग्ने होटलले जनाएको छ ।

Comments
Loading...