प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

हिमाली आवाज । देशकै प्रमुख पर्यटकीय शहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एशोसिएसन(पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

नेपालले सन् १९७५ मा पाटा इन्टरनेशनलको सदस्यता लिएपछि पहिलो पटक आगामी मे २९ देखी जुन १ सम्म सो संस्थाको शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट पोखरामा आयोजना हुन लागेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिृकत डा धनन्जय रेग्मीले जानकारी दिनुभयो ।

नेपाल सरकार, पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने कार्यक्रमको स्थानीय संयोजन पोखरा परिषद्ले गर्ने पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

शिखर सम्मेलनका लागि नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहनुभएका संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको र समितिमा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाहरु सदस्य रहेका छन् ।
कोभिड—१९ पछि उठ्दै गरेको नेपालको समग्र पर्यटन क्षेत्र र विशेषगरी पोखरा र गण्डकी प्रदेशको पर्यटनका लागि मार्ट र शिखर सम्मेलन कोशेढुङ्गा हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर कार्यक्रमले प्रदान गर्नेछ ।उहाँले भन्नुभयो,“नेपालले तेस्रो पटक एडभेन्चर मार्ट र पहिलो पटक पाटा शिखर सम्ेमलन आयोजना गर्न लागेको छ । कार्यक्रमले नेपालको पर्यटनमा थप माइलेज बढ्ने अपेक्षा गरेका छौँ । यसबाट पर्यटक आगमनमा वृद्धि हुने र सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड १९ पूर्वको अवस्थामा पुग्ने विश्वास गरिएको छ । ”

शिखर सम्मेलनमा १५ देशका गन्तव्य प्रमुखहरु सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्यहरुको सहभागिता रहनेछ ।नेपालले पहिलो पटक आयोजना गर्न लागिको प्रतिष्ठित पाटा शिखर सम्ेमलनले नेपाल र पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउने विश्वास गरिएको छ ।
एडभेन्चर मार्टमा विश्वभरका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको सहभागितामा दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, साहशिक र पर्वतीय पर्यटन लगायतका विषयमा गहन छलफल हुने पाटाका इन्टरनेशनलका सचिव सुमन पाण्डेले बताउनुभयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कार्यक्रमले पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताउँदै महानगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी,पोखरा पर्यटन परिषद्का कार्यवाहक अध्यक्ष कृष्ण भण्डारी, महासचिव सञ्जयकान्त सिग्देल लगायतले पाटा शिखर सम्मेलनल पोखराका लागि महत्वपूर्ण भएको बताउनुभएको थियो ।

Comments
Loading...