नेपाली सेनाका बारेमा झुठा प्रचारबाजी भयो : प्रधानसेनापति शर्मा

हिमाली आवाज । प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भनेर सरकारले निर्धारण गर्ने बताउनुभएको छ ।

नेपाली सेना भूपू सम्मेलन—२०७९ को आज पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उहाँले नेपाली सेनाका बारेमा नचाहिदो कुराहरु प्रकाशित हुने गरेको उल्लेख गर्नुभयो ।

प्रधानसेनापति शर्माले भन्नुभयो,“नेपाली सेनाको सङ्ख्याका बारेमा नचाहिदो कुराहरु हुने गरेको छ, यो हास्यास्द हो भन्न चाहन्छु । आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ, नकि कुनै आइएनजिओ÷ एनजिओमा बसेर आफै स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षा विज्ञ भन्नेहरुले भन्ने होइन, यो नेपाल सरकारको काम हो भन्न चाहन्छु ।”

प्रधानसेनापति शर्माले अर्नगल र झुठा प्रचारबाजीबाट टाढा रहन र भूपूहरुलाई केही जान्न इच्छा भएमा वेवसाइट, विभिन्न परिपत्र र नेपाल सरकारका आदेश र निर्देशनबाट प्रष्ट हुने बताउनुभयो ।नेपाली सेनाले संविधानले तोकेको आफ्नो जिम्मेवारी अत्यन्त प्रभावकारी तवरले निर्वाह गर्दै आएको बताउनुभयो ।

देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली संविधान प्रद्धत्त जिम्मेवारी रहेको बताउनुभयो ।

यसका साथै विकास निर्माण, पर्यावरण संरक्षण, विश्व शान्ति स्थापना, नेपाली जनताका लागि आवश्यक परेका अन्य काममा सहयोग गर्ने जिम्मेवारी र सरकारले तोकिएका विभिन्न कार्य गर्नुनै सेनाले आफ्नो जिम्मेवारी ठानेको प्रधानसेनापतिले बताउनुभयो ।

प्रधानसेनापति शर्माले लामो सैनिक जीवनका दौरान सिकेको र स्मरण गरेको अनुशासन, मुल्यमान्यता तथा ज्ञान, सीपहरुलाई आफ्नो बसोबास गरेको समाजमा प्रयोग गर्दै सदैव जनताको सेवामा लाग्न भूपू सैनिकहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,“ सैनिक जीवनमा प्राप्त ज्ञान तथा सीपको अधिकतम प्रयोग गरी समाजसेवामा तल्लिन रहनु हुनेछ भन्ने विश्वास लिएको छु । यति गर्न सके हाम्रो कर्तव्य पूरा भएको मानिने छ ।”

भूपू सैनिकहरुको भूमिका नेपाली सेनालाई मात्र नभई समग्र राष्ट्रको हितको लागि अहम् रहने भएकाले असल कार्यले सेनाको स्वच्छ छविलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व सैनिक परिवारलाई सहयोग र स्वरोजगार गर्ने उद्देश्यले स्थापना भएको सैनिक कल्याणकारी कोषको अधिकतम उपयोग गरी आयमूलक स्वरोजगारमार्फत जीवनस्तर उकास्ने लक्ष्य लिइएको प्रधानसेनापति शर्माले बताउनुभयो ।

सैनिक कल्याणकारी कोषमा हाल रु ७३ अर्व, १३ करोड रकम रहेको र १० लाख हिताधिकारीलाई सो रकमको ब्याजबाट विभिन्न सहुलियत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा ज्येष्ठ भूपू सैनिक ९२ वर्षीय गोमानसिँह कार्की र ज्येष्ठ एकल महिला ८९ वर्षीया मषिकलता थापा क्षेत्रीलाई सम्मान गरिएको थियो । यसैगरी लघु उद्यम व्यवसायीहरुलाई सम्मान तथा पुरस्कार वितरण, उद्यमी व्यवसायीहरुलाई महिला उद्यमशिलता कर्जाको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा भूपू सैनिकहरुबाट मार्चपसा, जिल्लागत रुपमा भूपू सैनिकहरु त्था एकल महिलाहरुको मार्चपास, स्थान विशेषका झाँकीहरुको प्रदर्शन, खुकुरी ड्रिल, तेक्वान्दो, पिटि तथा मार्चपास र विभिन्न संस्कृतिहरुको प्रदर्शनी गरिएको थियो ।
कृष्ण दवाडी,पोखरा

Comments
Loading...