साधन स्रोत केन्द्रमा राखेर स्थानीय तह बलियो हुँदैन : मुख्यमन्त्री अधिकारी

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले साधन स्रोत केन्द्रमा राखेर प्रदेश र स्थानीय सरकार बलियो नहुने बताउनुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उहाँले अधिकार सङ्घकमा केन्द्रित हुँदा प्रदेश र स्थानीय तहमा पुँजीगत खर्च समेत पर्याप्त नहुने बताउनुभयो । उहाँले सरकारका कार्यक्रमहरु स्थानीय तहका रोजाईमा हुनुपर्ने समेत बताउनुभयो ।

मुख्यमन्त्री अधिकारीले भन्नुभयो,“हामीले स्थानीय विकास पूर्वाधार कार्यक्रममा पनि स्थानीय तहको रोजाइका कार्यक्रममा हुनुपर्दछ सांसदहरुलाई स्पष्ट भनेका छौँ । लागू गर्ने त्यही भूगोलमा भएकाले स्थानीय तहको प्राथमिकताका कार्यक्रम हुनुपर्दछ । स्थानीय तह जहिले बलियो हुन्छ, नेपाल बलियो हुन्छ, विकास दिगो हुन्छ, दिगो विकास लक्ष्य प्राप्त गर्दछौँ । ”

योजनाहरुको स्थानीय तहले प्राथमिकिकरण गर्नुपर्ने दिगो विकास लक्ष्यका हासिल गर्ने गरी काम गर्नुपर्ने मुख्यमन्त्री अधिकारीले बताउनुभयो । उहाँले स्थानीय तहका कार्यक्रम कार्यन्वयनमा प्रदेश सरकारले सघाउने प्रतिवद्धता जनाउनुभयो ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष इश्वर पाण्डेले गाउँपालिकाले स्थानीय सरकारको रुपमा सेवा प्रवाह, विकास कार्य र शासन प्रक्रिया सञ्चालनका मुख्य तीन कार्य गर्नुपर्ने दायित्व रहेको बताउनुभयो ।कार्यक्रममा गण्डकी प्रदेशका ५८ वटै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ ।

अधिवेशनले आगामी पाँच वर्षका लागि महासङ्घको नयाँ नेतृत्व चयन गर्नेछ । विसं २०७५ कात्तिक १६ र १७ गते कास्कीको पर्यटकीय ताङतिङ गाउँमा महासङ्घको प्रथम अधिवेशन भएर नेतृत्व चयन गरिएको थियो ।

Comments
Loading...