चैते दसैँमा बागलुङको कालिका भगवतीमा पाँच लाख धार्मिक पर्यटक पुग्ने

हिमाली आवाज । चैते दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

चैते दसैँका अवसरमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् ।
मुस्ताङको मुक्तिनाथ दर्शनका लागि पुगेका धार्मिक पर्यटकसमेत पछिल्लो समय कालिका मन्दिरमा आउने गरेका छन् । चैते दसैँ सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । दर्शनार्थी चढेका सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई समेत सकस हुने गरेको छ ।

नवरात्रि सुरु भएसँगै कालिका मन्दिरमा टाढाटाढाबाट भक्तजन आउनेक्रम सुरु भएको छ भने रमाइलो मेला, विभिन्न घरायसी सामग्रीका कक्ष तथा स्थानीय उत्पादनका कक्षमा व्यापारसमेत सुरु भइसकेको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

चैते दसैँका अवसरमा पाँच लाख धार्मिक पर्यटकले बागलुङ कालिका मन्दिर दर्शन गर्ने कालिका मन्दिर गुठी व्यवस्थापन समिति तथा चैते दसैँ मेला मूल आयोजक समितिले जनाएको छ ।

नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष चैत १३ गतेदेखि सञ्चालन गर्ने बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

हरेक वर्षको चैते दसैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने यो मेला यही चैत १३ देखि १७ गतेसम्म सञ्चालन हुने मेला मूल आयोजक समिति कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

“नवरात्रदेखि पूर्णिमासम्म पाँच लाख दर्शनार्थीले कालिका मन्दिर आउने लक्ष्य छ, नवरात्रको चौथो दिनदेखि नै धार्मिक पर्यटक बोकेका सवारीसाधनलाई बाङ्गेचौर खेल मैदानमा व्यवस्थापन गर्न थालिएको छ, दिनप्रतिदिन कालिका मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ”, खड्काले भन्नुभयो, “परम्परागत चैते दसैँको सबै तयारी पूरा भइसकेको छ, अहिले रमाइलो मेला सुरु भइसकेको छ, चैते दसैँको मेलाको उद्घाटन चैत १३ गते हुनेछ ।”

Comments
Loading...