पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा भक्तजनको घुँइचो

हिमाली आवाज । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा चैते दशैँ पर्वका अवसरमा आज विहानदेखीनै भक्तजनको घुँइचो लागेको छ ।

मन्दिर दर्शन र पूजाआजाका लागि श्रद्धालुभक्तजनहरु विहान ४ः०० बजे सवेरैदेखी लामवद्ध भएका थिए । मन्दिरमा पूजाका लागि नेपालीमात्र नभई छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु सहभागी भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

मन्दिमा लाइनमा बस्न सक्नेहरु लामवद्ध भएका छन् भने नसक्नेहरुले बाहिरबाटनै मन्दिर दर्शन तथा टीका ग्रहण गरिरहेका छन् ।
क्षेत्र विकास समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले चैतेदशैँको अवसर पारी टाढाटाढाबाट समेत भक्तजनहरु आएर मन्दिरमा श्रद्धापूर्वक दर्शन गरिरहेको जानकारी दिनुभयो ।

पछिल्लो समय भारतीय तीर्थालु भक्तजनहरुको संख्या मन्दिरमा बढेको छ । भारतीयहरु विन्ध्यवासिनी मन्दिर दर्शन गरेर मुक्तिनाथसम्म पुग्ने गरेका छन् ।

अधिकारीका अनुसार बिहीबार रामनवमी दिन विहान ८ बजेदेखी ११ बजेसम्म समकालीन सन्दर्भमा मर्यादा पुरुषोत्तम श्रीरामका बारेमा स्वामी डा यतिराज आचार्यबाट विशेष प्रवचन हुनेछ ।

पोखराका विन्ध्यवासिनी मन्दिरसँगै तालबाराही मन्दिर, भद्रकाली, लामाचौरको अकला मन्दिर लगायतका धार्मिकस्थलहरुमा समेत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ ।

Comments
Loading...