युएईका साउद र भारतकी स्नेहललाई दुवाथलन उपाधि

हिमाली आवाज । एशिया ट्रायथोलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप अन्तरगत आज पोखरामा सम्पन्न दुवाथलनतर्फ पुरुषतर्फ संयुक्त अरब इमिरेट्स(युएइ)का साउद अलजावी र महिलातर्फ भारतकी स्नेहल सुनिल जोशीले च्याम्पियन हुनुभएको छ ।

नेपाल ट्रायथोलन सङ्घको आयोजनामा पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा भएको प्रतिस्पर्धामा साउदले निर्धारित पाँच किमी दौड, २० किमी साइक्लिङ र पुनः साढे दुई किमी दौड कूल ५९ मिनेट २७ सेकेण्डमा पार गरी च्याम्पियन बन्नुभयो ।यसैगरी महिलातर्फ उपाधि विजेता जोशीले निर्धारित दूरी पार गर्न एक घण्टा १२ मिनेट १९ सेकेण्ड समय लगाउनुभयो ।

यसैगरी पुरुष तर्फ नेपालका हिमाल टमाटाले ५९ मिनट ४७ सेकेन्ड र वसन्त थारुले एक घन्टा दुई मिनट नौ सेकेन्डमा निर्धारित दूरी पूरा गरी क्रमशः द्धितीय र तृतीय स्थान हासिल गर्नुभयो ।

महिला तर्फ भारतकी सञ्जना सुनिल जोशीले एक घन्टा १३ मिनट २५ सेकेन्ड समयका साथ द्धितीय र नेपालकी हुमी बुढा मगरले एक घन्टा १४ मिनट ३० सेकेन्डमा तोकिएको दौड पूरा गरी तृतीय स्थान हासिल गर्नुभयो । दुवाथलनतर्फ महिला तथा पुरुष गरी १८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य,गण्डकी प्रदेशसभाका निर्वतमान सदस्य दीपक कोईराला, नेपाल ओलम्पिक कमिटीका महासचिव एवं नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डि.बी. नेपाली, कास्की जिल्ला ट्रायथोलन सङ्घका निर्वतमान अध्यक्ष सुमन देवकोटा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Comments
Loading...