पोखरा—१८ को वडाध्यक्षको पुनः मतगणना गर्न उच्च अदालतको आदेश

हिमाली आवाज । उच्च अदालत पोखराले गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचन—२०७९ अन्तर्गत पोखरा महानगरपालिका—१८ मा पुनः मतगणनाको आदेश दिएको छ ।

यसअघि सो वडामा तीन मतान्तरले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षको पदका उम्मेदवार बन्नुभएका शिवप्रसाद तिमिल्सिना विजयी हुनुभएको थियो ।

नेकपा(एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्याशी पुष्कल थापाले गणनामा धाँदली भएकाले पुनः मतगणनाको माग सहित उच्च अदालतमा निवेदन दिनुभएको थियो ।

सो निवेदनमाथि आज सुनुवाई गर्दै उच्च अदालतका कायममुकाय मुख्य न्यााधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले गणना बदर गरी आगामी वैशाख २० गते पुनः मतगणना गर्न आदेश गरेको अदालतका उपरजिष्टार एवं सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार गणनाको जनशक्ति व्यवस्थापनका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा र स्थान तोक्नका लागि उच्च अदालतका रजिष्ट्रारलाई आदेश भएको छ ।

यसअघि निर्वाचन आयोगले सो वडाको अन्तिम मत परिणाममा वडाध्यक्षमा विजयी तिमिल्सिनाले एक हजार ६४३ र थापाले एक हजार ६४० मत पाउनुभएको घोषणा गर्दै तिमिल्सिनालाई विजयी घोषणा गरेको थियो ।थापाले परिणाम घोषणा लगत्तै पुनः गणनको माग गरेपनि निर्वाचन आयोगले गणना अस्विकार गरेको थियो ।

Comments
Loading...