पोखरामा आजदेखी ‘बलियो नेपाल कप’ क्रिकेट

हिमाली आवाज । बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा चैत २२ देखी पोखरा रङ्गशलाास्थित क्रिकेट मैदानमा ‘बलियो नेपाल कप–अण्डर १९’ क्रिकेट प्रतियोगिताको तेश्रो संस्करण सञ्चालन हुने भएको छ ।

ग्रासरुट क्रिकेटको विकास गर्दै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य प्रतियोगिताको छ ।

खेलाडीमा लुकेको प्रतिभा उजागर गर्ने र उनीहरुलाई खेल्ने प्लेटफर्म सिर्जना गर्ने उद्धेश्य सहित प्रतियोगिता गर्न लागिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले सहभागिता जनाउने नेपाल न्यूट्रिसन ईनिसियटिभका वित्त तथा प्रशासन ब्यबस्थापक प्रकाश बख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसार टि–२० ढाँचामा खेलाईने प्रतियोगितामा सहभागी छ टिमलाई दुई समूहमा विभाजन गरेर लिगकम नक–आउटका आधारमा प्रतिष्पर्धा गराईनेछ ।

यसअघि लुम्विनी प्रदेशका १२ जिल्लाको सहभागितामा पहिलो संस्करण र पाँच वटा प्रदेशको सहभागितामा काठमाडौंमा दोश्रो संस्करणको प्रतियोगिता सम्पन्न भइसकेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार र द्धितीय हुने टोलीलाई रु २५ हजारसहित ट्रफी र मेडल पुरस्कार प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’ घोषित एक जना खेलाडीलाई नगद रु १० हजारसहित ट्रफि तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर एक÷एक जनालाई नगद रु सात÷सात हजार र ईमर्जिङ प्लेयरलाई नगद रु पाँच हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारश खड्काले प्रतियोगिता ग्रासरुट क्रिकेटको विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“ग्रासरुट क्रिकेटको महत्व बुझेरनै खेलाडीलाई प्लेटफर्म प्रदान गर्न प्रतियोगिता हुन लागेको हो । सबै मिलेर खेलाडीलाई खेल्ने वातावरण निर्माण गर्नु पर्दछ ।”

नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय सदस्य ऋषिराम गौतम र कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले क्रिकेट खेल विकासका लागि प्रतियोगिता आयोजना गरिएकाले सम्पूर्ण पोखरेलीहरुले यसलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । प्रतियोगिता यही चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।

Comments
Loading...