हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी शहर पोखरालाई देशको सङ्घीय राजधानी काठमाडौंसँग स्थलमार्गबाट जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति योजनाको काममा ढिलाई भएको छ ।गत वर्षदेखी काम सुरु भएपनि आयोजनाको हालसम्म छ प्रतिशत हाराहारीमा मात्र भौतिक प्रगति भएको छ ।
आयोजनाको काम आशातित अघि नबढेपछि आइतबार उपपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पोखरा महानगर प्रमुख धनराज आचार्य, चिनियाँ राजदुत चेन सोङ्ग, भौतिक पूर्वाधार तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो ।
पोखरा-मुग्लिन सडकखण्ड विस्तार आयोजनाको पश्चिम खण्डको सुरुआत विन्दु पोखराको सेती नदीपुलबाट अनुगमन सुरु गरेको हो ।टोलीले हालसम्मको कामको प्रगति, आयोजनाको ढिलाईका कारण र समस्याहरुका बारेमा जानकारी लिएको मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमखण्डमा सुरु भएको अनुगमन पूर्वीखण्ड सहित मुग्लिनसम्म हुनेछ ।

आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो,“आयोजनाको पश्चिम खण्डको काम ढिलाई भएपछि अवस्था बुझ्नका लागि गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्री सहितको उच्चस्तरीय टोली आएको हो । निर्माण कम्पनीबाट काममा ढिलाई भएपछि कामको गति कसरी बढाउन सकिन्छ भनेर छलफल भयो । आयोजनामा देखिएका समस्या समाधान गरी तोकिएको मितिमा सडक विस्तार सम्पन्न गर्नेतर्फ सबैले चासो दिनुभएको छ।”
उच्चस्तरीय अनुगमन टोलीले आयोजनामा देखिएका समस्या सरकारले समाधान गर्ने र तोकिएको समयभित्रमै सडक निर्माण सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएको थियोे ।
सडक विस्तारका लागि विद्युत र खानेपानीका पाइप स्थानान्तरण, मापदण्डभित्र परेका घरहरुलाई मुआब्जा दिएर खाली गर्ने लगायतका समस्या रहेको आयोजनाले जनाएको छ ।एशियाली विकास बैंक (एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउने योजना छ ।
पोखरा-मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड पोखरामा स्थापना भएको मुग्लिन-पोखरा सडक योजना कार्यालयले हेर्ने गरेको छ ।
यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । यसको कार्यालय गुणादीमा रहेको छ ।पश्चिम खण्ड निर्माणका लागि रू. सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ ।यस योजना ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी विसं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो।