पोखराको महेन्द्रपुलमा चमेनागृह सहितको अत्याधुनिक सार्वजनिक शौचालय

हिमाली आवाज । गैर आवासीय नेपाली संघ(एनआरएनए) र पोखरा महानगरपालिकाको लागत साझेदारीमा पोखराको महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय बनाइने भएको छ । अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह महेन्द्रपुलमा निर्माण हुनेछ ।

यसमा एनआरएनएले रु ६० लाख र पोखरा महानगरपालिकाले रु ४० लाख गरी रु एक करोड लगानी गर्नेछन् । महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू छन् ।

महेन्द्रपुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माणको तयारी गरेको छ । त्यसको शिलान्यास आगामी वैशाख १ गते गरिनेछ । त्यहाँ संयुक्त राष्ट्र सघंमा आवद्ध १९५ देश सहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूको झन्डा समेत राखिने महानगरले जनाएको छ । पार्कको बिच भागमा नेपालको सबैभन्दा ठुलो झन्डा राखिनेछ । विशेष अवसरहरूमा झण्डात्तोलनका लागि सोही स्थानमा कार्यक्रम गरिने बताइन्छ ।

शौचालयको सोमबार शिलान्यास गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखराको पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि सो स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरिएको बताउनुभयो ।

जीर्ण भवनहरू विस्थापित गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृह सहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताउनुभयो ।

“यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ, अत्याधुनिक प्रविधिको प्रयोग मार्फत स्मार्ट शौचालय निर्माण हुनेछ, प्रमुख आचार्यले भन्नुभयो, “चमेनागृह सहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भेन्डर समेत समावेश हुनेछ ।” शौचालय कुनै पनि सुविधा सम्पन्न होटेलको बराबर हुने प्रमुख आचार्यले बताउनुभयो ।

शौचालयबाट निकाल्न सकिने ग्याँसको प्रयोगबाट चमेना गृह पनि सञ्चालन गरिने छ । त्यो टिपिकल नेपाली शैलीको हुने प्रमुख आचार्यको भनाई छ । आसपासमा केही चौतारीहरू निर्माण गरिनेछन् । अधिकांश स्थान भने खुल्ला नै राखिने प्रमुख आचार्यले बताउनुभयो ।

एनआरएनएका मेगा प्रोजेक्ट संयोजक रविना थापाले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

एनआरएनए पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवर्द्धनको अभियानमा थप सहकार्यका लागि तयार रहेको उहाँले बताउनुभयो ।

एनआरएनएका कार्यकारी अध्यक्ष बद्री बहादुर केसीले विदेशमा जस्तै पोखरामा पनि सुविधा सम्पन्न अत्याधुनिक शौचालय निर्माण गरिने बताउनुभयो ।

Comments
Loading...