हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा रहेको बगैँचा टोल विकास संस्थाले नेपाली नयाँवर्षको अवसरमा आज एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा वडाध्यक्ष भट्टराईले नयाँवर्षले सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,“यस वर्ष देशले आर्थिक लगायत धेरै संकट भोग्नु परेको छ । आगामी वर्ष त्यस्तो नहोस् । देशमा आर्थिक उन्नयन, समृद्धि र जनताको मुहारमा सँधै खुशी आगामी वर्षमा हुनेछ भन्ने विश्वास छ ।”

वडाध्यक्ष भट्टराईले बगैँचा टोल विकास संस्था वडामै उत्कृष्ट टोल विकास सस्थाका रुपमा रहेको बताउनुभयो । बगैँचा टोल विकासले गरेको सामाजिक कार्यको अन्य सबैले अनुसरण गर्न उहाँले आग्रह गर्नुभयो ।
बगैँचा टोल विकास संस्थाका अध्यक्ष मीना ढकालले संस्थाले सरसफाई कार्यक्रम, महिलाहरुको क्षमता विकास, आयआर्जनमा सहयोगी, स्वास्थ्य सामग्री वितरण लगायतका काम गरेको बताउनुभयो। उहाँले आगामी दिनमा वडासँग सहकार्य गरेर क्षमता विकासका कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य दीपेन्द्र पहारी, वासु बराल, अन्नपूर्ण आमा समूहका अध्यक्ष रेणु लामिछाने, अन्नपूर्ण आमा समूहका सल्लाहकार एवं हिमाली आवाज साप्ताहिकका पत्रकार गणेश पहारी, सल्लाहाकार प्रेमनारायण अधिकारी,स्थानीय नवराज अधिकारी, नर्मदेश्वर मन्दिरका पूजारी प्रविन तिमिल्सिना लगायतले टोल विकासले बैदाम क्षेत्रमा गरेको कार्यको प्रशंसा गनुृभयो । कार्यक्रममा बगैँचा टोल विकास संस्थाका उपाध्यक्ष उर्मिला ढकालले स्वागत र सञ्चालन सचिव रमा शिवभक्तिले गर्नुभएको थियो ।