नव वर्षका अवसरमा एगाद्वारा बाल आश्रममा सहयोग

हिमाली आवाज । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसियन(एगा) पोखराले नयाँ वर्ष २०८० का अवसरमा पोखरा महानगरपालिका वडा नं १९ लामाचौरस्थित कल्याणी बाल आश्रममा खाद्यान्न सहयोग गरेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष विभिन्न आश्रमममा सहयोग गर्दै आएकोमा यस वर्ष पनि लगभग ३५ हजार रुपैयाँ बराबरका खाद्यान्न सहयोग गरेको एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले जानकारी दिनुभयो । संस्थाले यस किसिमका सहयोगलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

उक्त अवसरमा एगा पोखराका पूर्व अध्यक्ष एवम् लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठले आश्रमका लागि अत्यावश्यक १० वटा कुर्ची सहयोग गर्नुभयो ।

२०६५ बाट केही अनाथ बालबालिकालाई राखेर पालन पोषण एवम् अध्ययनको व्यवस्था मिलाएको आश्रममा हाल विभिन्न जिल्लाका १३ वटा अनाथ बालबालिका आश्रित छन् । ६ वर्षदेखि १४÷१५ वर्ष उमेर समुहका बालबालिकालाई आश्रमले विभिन्न संघसंस्थाको सहयोग समेत जुटाएर पालनपोषण गर्दै आएको सञ्चालक कुमारी भवानीले जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले आश्रममा गरिएको सहयोगले आश्रित बालबालिकाको पालनपोषणमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

यस अघि नव वर्षका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्रवद्र्धनात्मक सामाग्री तयार गर्दै पर्यटन क्षेत्रमा एगाले पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

भूकम्प, कोराना, जहाज दूर्घटनाका साथै बढ्दो ब्याजदर लगायतका कारण पर्यटन क्षेत्र समस्यामा परेको उल्लेख गर्दै उहाँले यसलाई बचाउन राज्यको व्यवसायमैत्री नीति र व्यवहार आवश्यक हुने बताउनुभयो । नयाँ वर्ष २०८० सबै किसिमका समस्या समाधान हुँदै पर्यटन क्षेत्रले गति लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन बोर्डबाट विनियोजन हुने रकम नितान्त प्रवद्र्धनका लागि हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नविन पोखरेलले विभिन्न समस्याबाट गुज्रिएको पर्यटन आगामी दिनमा सकारात्मक मोडबाट अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

एगा पोखराका निवर्तमान अध्यक्ष विश्वराज पोख्रेलले एगाले नेपाललाई विश्वमाझ चिनाउन पर्यटन क्षेत्रमा गरेको योगदानको मूल्याङ्कन हुनुपर्नेमा जोड दिनुभयो ।एगा पोखराका अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले सामाजिक सेवाका क्षेत्रमा एगाले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।

पूर्व अध्यष कृष्णकुमार श्रेष्ठले एगाले राज्यको लगानी बिना नै पर्यटन क्षेत्रमा गरेको सहयोगको उचित मूल्याङ्कन हुन नसकेको बताउनुभयो ।
पूर्व अध्यक्ष जीवनाथ गौतमले संस्थाले गर्दै आएको यस किसिमको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

संस्थाका सचिव गीता ढकाल पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक नारायण पाण्डे, उपाध्यक्ष गोकर्ण लम्साल लगायतले एगा पोखराका गतिविधि आदि बारे प्रकाश पार्नुभयो ।

Comments
Loading...