पोखराको महेन्द्रपुलमा झण्डा पार्क बन्दै,१९५ देशका झण्डा राखिने

हिमाली आवाज । पोखराको मुख्य बजार क्षेत्र रहेको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण सुरु भएको छ ।
विश्वका सवै देशहरुको झण्डा एकैठाउँमा राखेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्धेश्यले पोखरा महानगरपालिकाले लायन्य क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सँगको सहकार्यमा पार्क निर्माण थालनी गरेको हो ।

महेन्द्रपुलस्थित सेती नदीको डिलमा महानगरको जग्गामा निर्माण हुने सो पार्कको आज नयाँवर्षको पहिलो दिन महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभयो ।

प्यारापिट सहितको झण्डापार्क आगामी डेढ महिनाभित्रमा पार्क निर्माण गरिसक्ने योजना रहेको छ । पार्कमा संयुक्त राष्ट्र सङ्घमा आवद्ध १९५ देश सहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङघसंस्थाहरूको झन्डा राखिने महानगर प्रमुख आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो,“संयुक्त राष्ट्रसङ्घमा सदस्य रहेका देशहरु सबैको झण्डा र देशको नाम सहित उल्लेख गरेर राख्नेछौँ । पार्कको बिच भागमा नेपालको सबैभन्दा ठुलो ४० मिटर अग्लो झन्डा राखिनेछ । विशेष अवसरहरूमा झण्डात्तोलनका लागि सोही स्थानमा कार्यक्रम गर्नेछौँ ।”
झण्डा पार्क निर्माणका लागि रु ७० लाख लागत अनुमान गरिएको छ । सम्पूर्ण लागत रकम लायन्स क्लबले बेर्होने र यसको सञ्चालन महानगरले गर्नेछ ।

लायन्य क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का गर्भनर रामबहादुर वसेलले झण्डापार्कले संसारका पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो । महत्वपूर्ण कार्यमा लायन्स क्लब जोडिन पाउँदा खुशी लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ महेन्द्रपुल पोखराको अति महत्वपूर्ण ठाउँ हो, यहाँ सबै क्षेत्रबाट आवतजावत हुन्छ । पोखरामा संसारबाट पर्यटक आउँछन् । यहाँ आएर झण्डा पार्क हेर्दा उनीहरुलाई समेत गौरवबोध हुन्छ । महत्वपूर्ण काममा लायन्स सहभागी हुन हुँदा खुशी छौँ । स्थानीय सरकारसँग सहकार्य गरेर पोखराका लागि काम गर्नेछौँ ।”

पोखरा—९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पर्यटकीय हिसावले समेत झण्डा पार्कको महत्व हुने बताउनुभयो । पोखराको लेकसाइड आउने पर्यटकहरु बजार क्षेत्र रहेको महेन्द्रपुलमा समेत आउने र यसले पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

महानगरले केहीदिन अघि महेन्द्रपुलमानै अत्याधुनिक सार्वजनिक शौचालय निर्माणको थालनीगरेको छ । गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) र महानगरपालिकाको रु एक करोड लागत साझेदारीमा सार्वजनिक शौचालय बनाउन लागिएको हो ।

महानगरले महेन्द्रपुलमा आफ्नो स्वामित्वमा रहेका दुई वटा पुराना भवनहरु भत्काएर झण्डा पार्क र सार्वजनिक शौचालय निर्माण सुरु गरेको हो ।

Comments
Loading...