पर्यटकीय गाउँ घान्द्रुकमा करोडौँको लगानीमा खुल्यो कल्चर रिसोर्ट

हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा घान्द्रुक कल्चर रिसोर्ट उद्घाटन भएको छ ।

घान्द्रुक कल्चर रिसोर्ट प्रालिको सञ्चालनमा रहेको रिसोर्टको सगरमाथा टिभीका प्रबन्ध निर्देशक निर्मल गुरुङ, प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले उद्घाटन गर्नुभयो । नयाँ वर्षको अवसर पारेर ८० प्रतिशत कार्यसम्पन्न भएको रिसोर्टको उद्घाटन गरिएको प्रालिका अध्यक्ष कुलप्रसाद गुरुङले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा टिभीका प्रबन्ध निर्देशक गुरुङले रिसोर्टले घान्द्रुकको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताउनुभयो । ‘पछिल्लो समय घान्द्रुकमा पर्यटकको चहलपहल बढिरहेको छ,’ उहाँले भन्नुभयो,‘यो रिसोर्टले पक्का पनि पर्यटन क्षेत्रमा एउटा इट्टा थप्ने काम अवश्य गर्नेछ ।’

प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले रिसोर्टले घान्द्रुक मात्र नभएर नेपालकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । यहाँको पर्यटन क्षेत्र विकासका लागि सदनमा आवाज उठाउने उहाँले प्रतिवद्धता जनाउनुभयो । यस क्षेत्र हुँदै अन्नपूर्ण बेस क्याम्प र घोडेपानी पुग्न सकिने भएकाले खर्च गर्न चाहने पर्यटकका लागि रिसोर्ट सहयोगी हुने उहाँको भनाई छ ।

रिसोर्ट आठ रोपनी क्षेत्रफलमा फैलिएको छ । रिसोर्टमा साढे १७ करोड लगानी रहेको छ । रिसोर्टमा करिब ३ सय जना अट्ने सभाहल, रेष्टुरेण्ट, ५० वटा कोठा रहेको रिसोर्टका व्यावस्थापक सञ्जय गुरुङले जानकारी दिनुभयो ।

सभाहलमा सेमिनार, गोष्ठी लगायत कार्यक्रम गर्न सकिन्छ । रिसोर्टमा बन्ने कोठा मध्ये २७ वटा तयारी अवस्थामा छन् भने, २३ वटा निर्माणाधिन अवस्थामा छन् । अहिले तत्काल ६० जना पाहुना व्यावस्थापन गर्न सकिने व्यवस्थापक गुरुङले बताउनुभयो । रिसोर्ट पूर्ण रुपमा सञ्चालन भएमा २ सय जना पाहुना राख्न सकिनेछ । यहाँ २ वटा कल्चर कोठा, ४ वटा अतिविशिष्ट, १५ वटा विशिष्ट र अन्य सामान्य कोठा छन्।

लोप हुन लागेका पुराना संस्कार, संस्कृति जगेर्ना गर्ने उद्देश्यले रिसोर्टको परिकल्पना गरिएको सञ्चालक गुरुङले बताउनुभयो । ‘अहिले हाम्रो संस्कार संस्कृति हराउँदै जान थालेका छन् । लोप हुने अवस्थामा रहेको संस्कृति जगेर्ना गर्न सकिन्छ की भनेर प्रयास थालेको हुँ,’ उहाँले भन्नुभयो,‘कल्चर झल्काउने घुमाउने घर, ढिकी, जातो, घट्ट, पुराना धातुका सामान, डोका, नाङ्लो लगायत राखेको छु । यो सँगै राती सांस्कृतिक कार्यक्रम पनि गरिन्छ ।’ रिसोर्टको माथि हेलिप्याड पनि बनाइएको छ । रिसोर्टमा विद्यार्थी, संघ संस्थाका समुह आएमा विशेष छुटमा राख्न सकिने गुरुङले बताउनुभयो ।

Comments
Loading...