पोखराका क्रियाशील पत्रकारलाई अनलाइन पत्रकारिता तालिम

हिमाली आवाज । पोखरामा अनलाइन पत्रकारिता तालिम सम्पन्न भएको छ । अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा बैशाखको २ गते देखि सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो ।

तालिममा अनलाइन पत्रकारिता, समाचार लेखन, तथ्यजाँच र पत्रकार आचारसंहिताका विषयमा सेसनहरु सञ्चालन भएका थिए । अनलाइन पत्रकारिताको विषयमा केशव शरण लामिछाने, समाचार लेखनको विषयमा भरत कोइराला, तथ्यजाँचका विषयमा दिपक अधिकारी र पत्रकार आचारसंहिताका विषयमा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले प्रशिक्षण गराउनुभएको थियो ।

तालिम समापनका क्रममा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले अनलाइन पत्रकारिताको विकास नेपालमा छोटो अवधिमा निकै चाँढो भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा पत्रकारिता सम्बन्धी आउने अधिकांश उजुरी अनलाइनका सन्दर्भमा हुने भएकाले यसलाई थप मर्यादित बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रेस काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवद्र्धनमा भुमिका खेल्नुका साथै सञ्चारमाध्यमलाई आचारसंहिता कार्यान्वयनका बारेमा निरन्तर सम्झाउने काम गरिरहेको बताउनुभयो । देशभरका रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइनका डाटाहरु काउन्सिलसंग रहेको भन्दै आवश्यक परेका बेला त्यसलाई आधार बनाएर कारबाही प्रकृयाहरु अगाडी बढाइरहेको उहाँको भनाई छ । पत्रकारिताको विकासको लागि र अनलाइनलाई थप मर्यादित बनाउन तालिमहरुले निकै ठुलो भुमिका खेल्ने बोहराको भनाई रहेको छ ।

कार्यक्रममा प्रशिक्षक एवं पत्रकार केशव शरण लामिछानेले पत्रकारहरु पलपल अपडेट हुनुपर्ने भएकाले पुनर्ताजकीको लागि तालिम निकै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न पत्रकारले निरन्तर प्रयास गर्नुपर्ने उल्लेख गर्नुभयो । पत्रकार कुनै न कुनै अनलाइनसंग जोडिरहेकाले आफुले पनि थुप्रै कुराहरु तालिमका दौरान सिक्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट बोल्दै पत्रकार कमल पौडेल अथकले पत्रकारिताका धेरै तालिमहरु लिएको भएपनि अनलाइन पत्रकारिता तालिम निकै सान्दर्भिक र व्यवहारिक भएको बताउनुभयो । उहाँले कुनै पनि संस्थाले एक पटक तालिम दिएपछि सोहि विषयमा फेरि त्यहि किसिमको तालिम नदिने गरेको भन्दै अनलाइन पत्रकारिता तालिम पटक पटक आयोजना गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता पढेकाले पनि समाचार राम्रोसंग लेख्न नसकेको भन्दै व्यवहारिकता महत्वपुर्ण कुरा रहेको टिप्पणी गर्नुभयो । पत्रकारिता पढेर मात्रै नभई व्यवहारिक रुपमा निरन्तर लेख्ने अभ्यास गरिरहनुपर्ने विषय भएको बताउनुभयो ।

त्यस्तै पत्रकार ज्योती हमालले अनलाइनको तालिम अहिलेको सन्दर्भमा निकै आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारितामा महिलासहभागिता बढ्न नसकेको भन्दै यस्ता तालिमहरुमा महिलाको सहभागिता बढाएर पत्रकारितामा महिलाहरुलाई ल्याउन सक्नुपर्ने उहाँको भनाई छ ।

अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालले अनलाइन पत्रकारिताको विकासको निमित्त तालिम अत्यावश्यक भएकाले यसलाइ निरन्तरता दिइने बताउनुभयो ।

उहाँले दर्ता नभइ संचालनमा रहेका अनलाइनलाई दर्ता गर्न लगाउने, दर्ता भएर विधिसम्मत तरिकाले सञ्चालन भएका अनलाइनलाई संघ मातहत ल्याएर अहिले देखिएका समस्याहरु समाधानमा संघ क्रियाशिल रहने बताउनुभयो । तालिममा पोखराका ४० पत्रकारहरुको सहभागिता रहेको थियो ।

Comments
Loading...